ओली–दाहालले केन्द्रीय सदस्यहरूलाई पैसा खुवाउने, कहाँबाट आउँछ पैसा ?

काठमाडौं । मुलुकमा भ्रष्टाचार र अनियमितताहरू बढेको भन्दै कम्युनिस्ट सरकारको आलोचना भइरहेका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरूलाई पैसा दिने तयारी भएको छ।

काठमाडौंको कोटेश्वरस्थित पेरिसडाँडामा रहेको पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकमा केन्द्रीय सदस्यहरूलाई तलब स्वरुप पैसा दिने प्रस्ताव पेश भएको हो।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रीय सदस्यहरूलाई पैसा दिने प्रस्ताव आएको स्वीकार गरे।

केन्द्रीय सदस्यलाई कम्युनिस्ट पार्टीको सिद्धान्तअनुसार पैसा दिने सम्बन्धी प्रस्ताव पेश भएको दाबी गरिएको छ।

प्रदेश, जिल्ला वा सोभन्दा तलका कमिटीले पूर्णकालीन कार्यकर्तालाई पैसा दिनेबारे आफैं निर्णय गर्ने व्यवस्था रहेको जनाइएको छ।

प्रवक्ता श्रेष्ठले केन्द्रीय सदस्यलाई कसरी आर्थिक सहयोग गर्ने भन्ने विषयमा सचिवालयमा छलफल हुने बताएका छन्।

नेकपाको झण्डै दुईतिहाइको सरकारले ओम्नी काण्ड, यति काण्ड, मल काण्ड, वाइडबडी काण्ड, नेपाल आयल निगमको जग्गा काण्ड, बालुवाटारको जग्गा काण्डलगायतका थुप्रै काण्ड गरेको भनेर आलोचना भइरहेको छ। यस विषयमा बैठकमा छलफलले प्रवेशनै पाएन।

तर, केन्द्रीय सदस्यहरूलाई पैसा अर्थत तलब खुवाउने विषयमा परामर्श भएको छ। केन्द्रीय सदस्यहरूलाई पैसा कहाँबाट ल्याएर खुवाउने हुन्? केही भनिएको छैन।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली र दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय सदस्यहरूलाई पैसा खुवाउने स्रोतका बारेमा केही भनेका छैनन्।

सचिवालयमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा विभिन्न विषयमा छलफल भएको छ।

Published : Sunday, 2020 September 20, 10:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया