कांग्रेसले गणेशमान सिंहको सिद्धान्त र आदर्शबाट प्रेरणा लिनुपर्छः प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्व.गणेशमान सिंहबाट नेपाली राजनीतिले सिद्धान्त र आदर्शको राजनीति गर्ने प्रेरणा लिए देश र जनताको हित हुने बताएका छन् ।

शुक्रबार स्व.गणेशमान सिंहको २३औं स्मृति दिवसका अवसरमा काठमाडौंको ठमेलस्थित चाक्सिवारीमा आयोजित कार्यक्रममा नेता सिंहले गणेशमान सिंहले सधैँ सिद्धान्त, निष्ठा र मूल्यको राजनीति गरेको बताए । उनले कांग्रेसका नेता कार्यकर्ताले गणेशमान सिंहको प्रेरणा लिनुपर्ने बताए ।

‘नेपालमा सक्रिय राजनीतिक दल र नेता कार्यकर्ता हुनुहुन्छ । उहाँले सिद्धान्त र आदर्शको राजनीति गर्ने जुन प्रेरणा दिनुभयो त्यहि मार्गमा हिँडेको खण्डमा मात्रै नेपल र नेपालीको भलो हुन्छ’, नेता सिंहले भनेका छन् ।

नेपालमा प्रजातन्त्र स्थापना गर्न र जनताको अधिकार सुरक्षित गर्न ६ दशक लामो राजनीतिक जीवनमा गणेशमान सिंहले १५ वर्ष जेल र १५ वर्ष निर्वासनमा विताएको नेता सिंहले बताएका छन् ।

उनले भने, ‘प्रजातान्त्रका लागि ठूलो संघर्ष गरेको र कष्ट सहेकैले उहाँलाई नेपाली जनताले सँधै सम्झिरहनेछन् ।’

नेता सिंहले स्व.गणेशमान सिंहको स्वच्छ, निष्कलंकित छविकै कारण कांग्रेसको आव्हानमा भएको ०४६ सालको जनआन्दोलनमा कम्युनिष्ट पार्टीहरूले उहाँको नेतृत्व स्वीकार गरेको सिंहले बताए ।

सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा ०४६ सालको जनआन्दोलन संयुक्तभन्दा पनि कार्यगत एकताका आधारका भएको उनले बताएका छन् ।

कांग्रस नेता सिंहले कम्युनिस्ट सरकारले कोरोना महामारीका बेलाका जनताका लागि गर्नुपर्ने न्यूनतम काम पनि नगरेको बताएका छन् ।

दुईतिहाई नजिकको कम्युनिस्ट सरकारले संविधानको भावनाअनुसार संघीय कानून नबनाइँदिँदा स्थानीय सरकारलाई काम गर्न समस्या भएको उनले बताए ।

उनले कम्युनिस्ट सरकार बालुवाटार जग्गा प्रकरण, यति होल्डिंग्स, सेक्युरिटि प्रिन्टिंग प्रेसको सत्तरी करोड कमिशन, वाइडबडी लगायतका काण्डमा मुछिएको बताए ।

Published : Friday, 2020 September 18, 11:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया