बालुवाटारका कारण दाहाललाई पहिलो गासमै झट्का, पूर्वहेडक्वाटरमा खैलाबैला

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको बैठक अचानक स्थगित भएपछि दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाललाई झट्का लागेको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले शुक्रबार बस्ने भनिएको केन्द्रीय सचिवालयको बैठक दुई दिन पछाडि सरेको बताएका छन् ।

सचिवालयको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, नेकपाभित्रको आन्तरिक विषय, अख्तियारसहितका आयोगहरूको नियुक्ति लगायतमा छलफल हुने जनाइएको थियो ।

‘हाम्रो पार्टीको आज बस्ने भनिएको केन्द्रीय सचिवालयको बैठकस्थगित भई पर्सी असोज ४ गते बिहान ११ बजे परिसडाँडामा बस्ने तय भएको छ’, प्रवक्ता श्रेष्ठले भनेका छन् । बैठक स्थगित हुनुको कारणका विषयमा श्रेष्ठले केही भनेका छैनन् ।

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको नेकपाको सचिवालयको बैठकलाई दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालले स्थायी समितिबाट एकलौटी अध्यक्ष भएपछि पेरिसडाँडामा बैठक राखेका छन् ।

पेरिसडाँडाको बैठकमा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी ओली जाने वा नजाने केही भनिएको छैन ।

धुम्बराहीस्थित पार्टी मुख्यालयमा बसेका बैठकहरूमा समेत नगएका ओली पेरिसडाँडामा बस्ने बैठकमा जाने सम्भावना निकै न्यून रहेको स्रोतले जनाएको छ ।

स्थायी समितिबाट पार्टी एकलौटी चलाउने जिम्मेवारी पाएका दाहालले पहिलो बैठक पूर्वमाओवादीको हेडक्वाटर पेरिसडाँडामा राखेका थिए । पहिलो बैठक नै प्रभावित बनेपछि दाहाललाई झट्का लागेको छ ।

स्रोतका अनुसार बालुवाटारकै कारण शुक्रबार पेरिसडाँडामा बस्ने भनिएको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । ओलीले पेरिसडाँडा जान रुचि नदेखाएपछि बैठक बिथोलिएको चर्चा नेकपाभित्र चलेको छ ।

Published : Friday, 2020 September 18, 10:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया