जनतामाथि कम्युनिस्ट सरकारले जालझल गर्न खोजेपछि कांग्रेसद्वारा भण्डाफोर, मन्त्री ढकाललाई पसिना छुट्यो

काठमाडौं । नेपाली कांग्रेसले शंकास्पद मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने कम्युनिस्ट सरकारको पछिल्लो निर्णय अत्यन्तै गलत रहेको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सो निर्णय तत्काल फिर्ता लिएर गहिरो विश्लेषण र गम्भीर सुझबुझका साथ मात्रै यस्ता संवेदनशील विषयमा निर्णयमा पुग्न खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकार र सम्बन्धित निकायलाई सचेत गराएको छ ।

‘कसैलाई संक्रमण छ र छैन व्यापक परीक्षण गर्नु र उबाट अन्यमा सर्न नदिन सम्पूर्ण सतर्कता राख्नु राज्यको प्रथम दायित्व हो’, विज्ञप्तिमा भनिएको छ, ‘यो अवधिमा कयौंले जीवित छंदै आफ्नो स्थितिबारे पूर्व सूचना पाएनन्, मृत्यु पश्चात् मात्रै कोरोना पुष्टि भएको कयौं विवरण सार्वजनिक भए ।’

‘मृत्युपछि मात्रै पीसीआर ? भनेर भएका आलोचना अन्त्य गर्न सरकारको पछिल्लो निर्णयले एक हदसम्म सघाउला तर, जिम्मेवार राज्यले नागरिकको आलोचनाबाट जोगिने उपायको खोजिमा होइन कोरोनाबाट नागरिकलाई जोगाउने रणनीतिको विकासमा आफुभित्र योग्यता र सक्षमताको खोजी गर्न जरुरी हुन्छ’, प्रवक्ता शर्माले भनेका छन् ।

‘शंकास्पद मृत्युमा कोरोना परीक्षण नगर्ने निर्णय गरिरहंदा त्यससँग गांसिएका गम्भीर सैद्धान्तिक र ब्यवहारिक प्रश्न नजरअन्दाज नगर्न हामी सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ ।

‘शंकास्पद मृत्यु भएका ब्यक्तिको परीक्षण गरिनु झनै जरुरी हुन्छ’, कांग्रेसले भनेको छ, ‘आफ्नो परिवारको सदस्यको मृत्यु हुनुको वास्तविक कारण थाहा पाउनु नागरिकको अधिकारको कुरा हो ।’
‘आफ्नो नागरिकको मृत्युको एकमात्र पनि घटना र कारणलाई शंकास्पद स्थितिमा रहन दिनु जिम्मेवार राज्यको परिचय होइन’, कांग्रेसको विज्ञप्तिमा भनिएको छ, ‘राज्यले कुनै पनि बहानामा यो दायित्वबाट पन्छिन मिल्दैन ।’

‘जीवित छंदै परीक्षण नगरिदिंदा परिवारले एकातर्फ तनाव भोगिरहेकै हुन्छ, मृत्यु पश्चात् पनि शंकास्पद स्थिति कायम राखिदिंदा झनै अन्यौल र फरक ढंगको मानसिक तनाव बढेर जानेछ’, विज्ञप्तिमा भनिएको छ, ‘परीक्षणबाट मृतकमा संक्रमण पुष्टि भए निकटस्थहरूको परीक्षण गरेर अरुलाई बचाउने कर्तव्य राज्यले निभाउन सक्दछ ।’

‘शंकास्पदको परीक्षण नगर्दा त्यो दायित्वबाट राज्य विमुख रहने स्थिति बन्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो निर्णयले सरकारलाई त्यो दायित्वबाट विमुख रहन जरुर सघाउनेछ । परिवारजनलाई तनावबाट मुक्त हुन किमार्थ सघाउंदैन ।’

‘शंकास्पद मृत्युको परीक्षणबाट रिपोर्ट नेगेटिभ आए मृत्युपछिको एक अर्को मानसिक तनावबाट परिवारजन मुक्त हुन सक्नेछन्’, कांग्रेसका प्रवक्ता शर्माले भने, ‘परीक्षण गरेर त्यो सहजीकरण गर्ने जिम्मेवारीबाट राज्यले भाग्नु गैह्र जिम्मेवार प्रवृत्ति हो ।’

‘सरकारले यो नीति त्यतिबेला लिएको छ जतिबेला मृत्युको ग्राफ दिनहुँ उकालो लागिरहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘शंकास्पद मृत्युको परीक्षण नगर्ने नीतिले कोरोनाबाट मृत्युको तथ्यांक कम देखाउन सरकारलाई सघाउला तर, मृत्युको बढ्दो गति रोक्न सघाउंदैन ।’

‘सरकारको शक्ति र रणनीति मृत्युको तथ्यांक लुकाउनमा प्रयोग गर्ने कि मृत्युको गति नियन्त्रण गर्न प्रयोग गर्ने ? जिम्मेवार सरकारको कर्तव्य के हुनुपर्दछ ?’, कम्युनिस्ट सरकारलाई कांग्रेसका प्रवक्ता शर्माको प्रश्न छ ।

‘नेपाली कांग्रेस शंकास्पद मृत्युको कोरोना परिक्षण नीति अविलम्ब फिर्ता लिन सरकारलाई सार्वजनिक रुपले अपील र आग्रह गर्दछ’, कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।

कम्युनिस्ट सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले शंकास्पद मृत्यु भएका व्यक्तिहरूको कोरोना परीक्षण नगर्ने निर्णय गराएपछि विरोध भएको छ । कांग्रेसको यो निर्णयले कम्युनिस्ट सरकारलाई तनाब बढाइदिएको छ ।

Published : Thursday, 2020 September 17, 7:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया