कांग्रेसमा ‘हिन्दूराष्ट्र’को मुद्धा जबरजस्त रुपमा आयो, गच्छदारको देशभरि प्रशंसा

काठमाडौं । नेपाली कांग्रेसमा हिन्दूराष्ट्रको मुद्धाले फेरि चर्चा पाउन थालेको छ । १४औँ महाधिवेशनको रौनक लागिरहेका बेला कांग्रेसमा हिन्दूराष्ट्रको विषयले स्थान पाएको हो ।

कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी हिन्दूराष्ट्रको मुद्धामा सबैभन्दा धेरै खुलेर देखिएका छन् । महामन्त्री डा.शशांक कोइराला पनि हिन्दूराष्ट्रका विषयमा सकारात्मक छन् ।

बेलाबेला महामन्त्री डा.कोइरालाले पनि हिन्दूराष्ट्रको पक्षमा अभिव्यक्ति दिने गरेका छन् ।

केन्द्रीय सदस्य भण्डारीले १४औं महाधिवेशनमा सनातन हिन्दूराष्ट्रको एजेण्डालाई सशक्त रूपमा उठाउने बताएका छन् । उनले हिन्दू धर्म नेपालको राष्ट्रिय पहिचान भएको बताए ।

तत्कालीन समयमा नेपाली कांग्रेसका नेता स्व.खुमबहादुर खड्काले हिन्दूराष्ट्रको मुद्धालाई संस्थागत रुपमा नै उठाएका थिए ।

नेपाली कांग्रेसका अधिकांश नेताहरू हिन्दूराष्ट्रको पक्षमा छन् । तर, खुलेर बोल्न चाहँदैनन् ।

नेपाली कांग्रेसको दुई वर्ष अगाडि सम्पन्न महासमितिको बैठकमा सहभागी १ हजार ४ सय सदस्यमध्ये करीब ७ सय महासमिति सदस्यहरूले हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर गरेर पार्टी नेतृत्वलाई बुझाएका थिए ।

बालकृष्ण खाँण, एनपी साउद, डा. शेखर कोइरालालगायतका नेताहरूले धर्मनिरपेक्षताका ठाउँमा धार्मिक स्वतन्त्रता हुनुपर्ने माग उठाएका थिए ।

नेपाली कांग्रेसका उप–सभापति विजयकुमार गच्छदारले धर्मनिरपेक्षताका विषयमा असन्तुष्टि देखिन थालेको बताएका छन् ।

वीपी कोइरालाको जन्म जयन्तीका अवसरमा आयोजित जुम अन्तरक्रियामा गच्छदारले हिन्दूराष्ट्रका बारेमा पार्टीले ठोस निर्णय गर्नुपर्ने बेला आएको बताएका थिए ।

‘धार्मिक स्वतन्त्रता वा हिन्दूराष्ट्र अहिले गर्न मिल्छ वा मिल्दैन तर, हिन्दू बाहुल्य मुलुकमा धार्मिक स्वतन्त्रताको कुरा नेपाली कांग्रेसको मान्यतामा थियो’, उप–सभापति गच्छदारले भने, ‘वीपी कोइराला, गणेशमान, किसुनजी, गिरिजाबाबुलाई सम्झिँदै कांग्रेसले यसमा पुनर्विचार गर्नुपर्ने हुन्छ ।’

नेपाली कांग्रेसका उप–सभापति गच्छदारले हिन्दूराष्ट्रका पक्षमा निर्णय गर्न कांग्रेसले ढिलाइ गर्न नहुने बताएका थिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले पनि खुलेरै हिन्दूराष्ट्रका पक्षमा बोल्न थालेका छन् ।

सभापति शेरबहादुर देउवाले हिन्दूराष्ट्रका विषयमा अहिलेसम्म केही बोलेका छैनन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, उप–सभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलालगायत नेताहरू हिन्दूराष्ट्रको विपक्षमा छन् । उनीहरूले सार्वजनिक रुपमा हिन्दूराष्ट्रको पक्षमा अहिलेसम्म अभिव्यक्ति दिएका छैनन् ।

Published : Saturday, 2020 September 12, 7:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया