कांग्रेसद्वारा मुख सम्हाल्न भारतीय विदेशमन्त्रीलाई चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले भारतका विदेशमन्त्री एस.जयशंकरले बुद्धका विषयमा दिएको विवादास्पद अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै भगवान बुद्धका बारेमा भारतीय विदेशमन्त्री जयशंकरले विवाद सिर्जना गरेको बताएका हुन् । उनले आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्‍याउने कार्य आफूहरूका लागि स्वीकार्य नहुने बताएका छन् ।

‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन् । त्यो भू–भाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्यविरूद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति छ’, शर्माले भनेका छन् ।

उनले वेगको जवाफमा आवेग दुवै देशको हितमा नहुने बताएका छन् । ‘वेगको जवाफमा आवेग दुवै देशको हितमा छैन’, प्रवक्ता शर्माले भनेका छन्, ‘राम जन्मभूमिको प्रश्न होस् या बुद्ध जन्मभूमिको । आपसी संवेदनशीलताको हेक्का नराखेर गरिने टिप्पणीले गहिरो चोट छोड्न सक्छन् ।’

‘मूल विषय मोड्न सक्छन्’, कांग्रेसका प्रवक्ता शर्माले भनेका छन्, ‘दीर्घकालीन हितमा हृदय जोड्न सक्दैनन् ।’

उनले बुद्ध नेपालमा जन्मिएको तथ्यबारे संसारमा कहिँबाट पनि नेपालले दर्ता प्रमाण नमागेको उल्लेख गरेका छन् ।

‘बुद्ध नेपालमा जन्मिएका हुन् भनेर संसारमा कहिँबाट दर्ता प्रमाण हामीले मागेका छैनौं’, उनले भनेका छन्, ‘भारतीय भूमिबाट विगतमा आएका टिप्पणी पनि नेपाल बुद्ध भूमि हो भनेर स्वयम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हाम्रो संसदमा बोलेपछि खारेज भइसकेको हो । फेरि पनि आपत्तिजनक टिप्पणी अत्यन्त दुःखद छ ।’

भारतीय विदेश मन्त्री एस जयशंकरले भगवान् गौतम बुद्ध महान भारतीय भएको बताएका थिए ।

Published : Sunday, 2020 August 9, 6:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया