कोरोनाबाट काठमाडौंसहित देशभरि एकैपटक पाँच जनाको मृत्यु

काठमाडौं । काठमाडौंसहित विभिन्न जिल्लामा समेत गरी कोरोना भाइरसको संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ ।

कोरोनाबाट नेपालमा पहिलो पटक एकैदिन पाँच जनाको मृत्यु भएको हो । पर्सा र मोरङमा दुई–दुई र काठमाडौंमा एक जनाको कोरोनाबाट मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

कोरोना संक्रमणबाट पर्सामा थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज–१५ भिश्वाका ४६ वर्षीय पुरुष र पोखरिया नगरपालिका–८ कि १८ वर्षीया युवतीको मृत्यु भएको छ ।

वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालमा उपचारका क्रममा ४६ वर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिएका छन् ।

१९ गते मृत्यु भएकी पोखरिया नगरपालिका–९ कि १८ वर्षीया युवतीमा कोरोना संक्रमाण पुष्टि भएको छ । झाडावान्ता भएपछि उनलाई सोमबार नेशनल मेडिकल कलेज लगिएको थियो ।

मोरङमा कोशी अस्पताल, विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका विराटनगरका पुरुष र अस्पताल ल्याउनेक्रममा बाटोमै मृत्यु भएका रंगेली नगरपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा.चुमनलाल दासका अनुसार बुधबार दिउँसो दुबै जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

रंगेली नगरपालिका– ८ दर्बेसाका ४५ वर्षीय पुरुषको भने बुधबार बिहान अस्पताल ल्याउने क्रममा मृत्यु भएको छ ।

काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत कोभिड–१९ को संक्रमितको पनि मृत्यु भएको छ ।

सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । मनमोहन अस्पतालबाट बलम्बु रिफर भएकी उनलाई कोरोना संक्रमण भएको १९ गते पुष्टि भएको थियो । उनलाई उनलाई निमोनियाका साथै स्क्रब टाइफससमेत भएको थियो ।

Published : Wednesday, 2020 August 5, 8:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया