वीरगञ्जमा कोरोना फैलिएकोमा कांग्रेस सभापति चिन्तित, एकअर्काबीच दुरी बनाउन अपील

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाका कारण नेपालमा ठूलो समस्या देखिएको बताएका छन् ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा शुक्रबार नेपाली कांग्रेसको खेलकुद विभागद्वारा १३औँ सागगेमका खेलाडीहरूको सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले कोरोनाबाट वीरगञ्ज धेरै ठूलो समस्यामा परेको बताए ।

उनले वीरगञ्जमा कोरोनाबाट मानिसहरूको ज्यान गएको भन्दै चिन्ता जनाए ।

सभापति देउवाले कोरोनाबाट बच्नका लागि एकअर्काबीच दुरी बनाउन अपील गरेका छन् । आफ्ना हरेक कार्यक्रममा सम्बोधनका बेला देउवाले एकअर्काबीच दुरी बनाउन आग्रह गर्दै आएका छन् ।

‘कोरोनाका बेला डिस्टेन्स बनाउनुपर्छ । डिस्टेन्स नबनाउँने गल्ती गर्नु हुँदैन’, उनले भने, ‘ठाउँठाउँमा कोरोनाको समस्या देखिएको छ । तपाईहरू त्यहाँ बस्ने ठाउँमा डिस्टेन्स बनाउनु भएको छैन ।’

‘कोरोनाबाट बच्नका लागि डिस्टेन्स बनाउन अति आवश्यक छ । डिस्टेन्स मेन्टेन्ट गर्नु जरुरी छ’, उनले भने, ‘वीरगञ्जमा कोरोनाले समस्या बनाएको छ । मान्छे मर्न थालेका छन् । दुरी बनाउनु होला ।’

‘कोरोना डरलाग्दो अवस्था भएको छ नेपालमा । सुदूरपश्चिममा घरघरमा पुगेको छ’, सभापति देउवाले भनेका छन् ।

Published : Friday, 2020 July 31, 6:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया