देउवाका कुरा सुनेर पाैडेल-काेइराला समूह छक्कै परे, हाँस्दै काेठाबाट निस्किए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशन नसक्किँदासम्म आफू कार्यकारी सभापति नै रहेको बताएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइराला समूहले बिहीबार सानेपास्थित पार्टी मुख्यालयमा बुझाएको ज्ञापनपत्र बुझ्ने क्रममा देउवाले आफू १४औँ महाधिवेशन नसक्किँदासम्म कार्यकारी सभापति नै रहने बताएका हुन् । उनले पार्टीको विधानमा कहिँ पनि कामचलाउ सभापति भनेर नलेखेको बताए ।

‘अर्को महाधिवेशनसम्म म फुलफेज सभापति हुँ’, सभापति देउवाले कोइराला–पौडेललाई जवाफ दिँदै भने, ‘विधानमा काम चलाउ सभापति भनेर कतै लेखेको छैन ।’ देउवाले पौडेल–कोइरालालाई ६०–४० को भागबण्डा अनुसार ४० प्रतिशत दिएको बताएका थिए । देउवाका कुरा सुनेपछि ज्ञापनपत्र बुझाउन पुगेका पाैडेल-काेइराला समूहका नेताहरूले हाँसेकाे एक नेताले बताए ।

पौडेल–कोइराला समूहमा उपगुटहरू धेरै भएका कारण ४० प्रतिशतले नपुग्ने भएपछि नाम दिन समस्या भएको हो । सोही समस्याका कारण नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरुण दलमा नाम दिन सहमति भएको लामो समय भइसक्दा पनि पौडेल–कोइराला समूहले नेताहरूको नाम दिएका छैन ।

सभापति देउवाले विभागहरू सहमति गठनका लागि आफूले पटक–पटक नाम माग गरेको कुरा पौडेल–कोइराला समूहलाई स्मरण गराएका थिए ।

‘म सहमतिका साथ अगाडि बढौँ भनेर तपाईहरूसँग पटक–पटक नाम माग गरेको थिएँ । तपाईहरूले दिनुभएन’, देउवाले भने, ‘अहिले पनि नाम दिनुस् भनेको छु । मिलेर सहमतिका साथ अगाडि बढौँ भनेको छु । तपाईहरू नै मान्नु हुन्न ।’

देउवाले पौडेल–कोइराला समूहलाई विभागमा रहनेहरूको नाम दिन आग्रह पनि गरेका छन् । उनले महाधिवेशन तोकिएको समयमा निस्पक्ष र लोकतान्त्रिक पद्धतिबाट हुने आश्वस्त रहन आग्रह गरेका छन् ।

देउवालाई ज्ञापनपत्र बुझाएपछि वरिष्ठ नेता पौडेल र महामन्त्री डा.शशांक कोइरालाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेका थिए । उनीहरूले सभापति देउवाले गर्दै जाने कार्यले आफूहरूलाई फाइदा नै भएको बताए । उनीहरूले सभापति देउवाले गरेका कार्यहरूलाई आफूहरूले १४औँ महाधिवेशनमा राजनीतिक एजेण्डा बनाएर लैजाने बताएका छन् ।

१४औँ महाधिवेशन शुरु भइसकेको भन्दै पौडेल–कोइराला समूहले विभागहरू गठनमा विरोध जनाउँदै आएको छ । उनीहरूले देउवाले पार्टी एकलौटी रुपमा कब्जा गरेर चलाएको आरोप समेत लगाउँदै आएका छन् ।

विभागहरू धमाधम बनेपछि पौडेल–कोइराला समूहका नेता तथा कार्यकर्ताहरू विभागमा बस्नका लागि नेताहरूलाई दवाव दिन थालेका छन् । नेता तथा कार्यकर्ताहरूको दवावपछि पौडेल–कोइराला समूहले विभाग गठनको विरोध गर्न शुरु गरेका हुन् ।

कोरोना महामारीका कारण १४औँ महाधिवेशन तोकिएको समयमा हुँदैन भन्ने कुराको जानकारी पौडेल–कोइराला समूहलाई राम्रोसँग जानकारी छ । उनीहरूले सहमतिका साथ अगाडि बढ्नेभन्दा पनि पार्टीमा बखेडा निकालेर कम्युनिस्टहरूलाई सजिलो बनाइदिएका छन् ।

Published : Thursday, 2020 July 30, 8:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया