कमल थापाको जिल्लामा पनि राप्रपामा पहिरो गयो, नेकपा–राप्रपाबाट कांग्रेस प्रवेश

हेटौँडा । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–३ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राप्रपा परित्याग गरी एक सय नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

मंगलबार सिस्नेरीमा भएको भेलामा नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले उनीहरूलाई पार्टी सदस्यता प्रदान गरेका हुन् ।

बानियाँले नवआगन्तुकहरूलाई पार्टी सदस्यता वितरण गर्दै जिम्मेवारी दिने बताएका छन् ।

सभापति बानियाँले कम्युनिष्टले जनतालाई भ्रममा राखेर झुठको खेती गरेको भन्दै अब जनताले कम्युनिस्टहरूलाई साथ नदिने बताए ।

कम्युनिष्टमा लाग्ने टाठाबाठाहरू आफू नेता बनेर सोझा जनतालाई झुक्याइरहेको उनले बताए ।

भेलाले राजाराम बानियाँको सभापतित्वमा १९ सदस्यीय वडा समितिसमेत गठन गरेको छ ।

समितिको उप–सभापतिमा विनोद बस्ताकोटी र किशोर बस्ताकोटी रहेका छन् । सचिवमा कृष्णहरि थापा मगर, कोषाध्यक्षमा धर्मेन्द्र मोक्तान र सह–सचिवमा दिनेश गजमेर रहेका छन् ।

भेलाले किशोर वाइबा तामाङको संयोजकत्वमा १७ सदस्यीय तरुण दलको कार्यसमिति समेत गठन गरेको छ ।

समितिको उपाध्यक्षमा सरोज थिङ, सचिवमा दिनेश अधिकारी र कोषाध्यक्षमा सविन बस्ताकोटी चयन भएका छन् ।

रजिना राना मगरको संयोजकत्वमा १० सदस्यीय महिला समितिसमेत गठन गरिएको छ । समितिको उप–संयोजकमा जुमा लामा, सचिवमा लक्ष्मी गोले, सह–सचिवमा सुमित्रा नगरकोटी र कोषाध्यक्षमा चिनीमाया राणा चयन भएकी छन् ।

नेपाली कांग्रेस ईन्द्रसरोबर गाउँपालिका सभापति विश्वलाल लामाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी जिल्ला सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पार्टीको संघीयतर्फको २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, जिल्ला सदस्य तथा ईन्द्रसरोबर गाउँपालिका–१ का निर्वाचित वडाध्यक्ष जमानसिंह वाइबा, महासमिति सदस्य तथा ईन्द्रसरोबर गाउँपालिकाको लागि जिल्ला प्रतिनिधि दिनेश उपाध्याय, पार्टी हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुली, ईन्द्रसरोबर गाउँपालिकाका उप–सभापति कृष्ण महर्जन, सह–सचिव विष्णुकुमार कार्की, ४ नम्बर वडाका पार्टी सभापति राजाराम बानियाँ, तरुण दलका क्षेत्रीय अध्यक्ष सुमन श्रेष्ठ, तरुण दलका केन्द्रीय पार्षद् विकास बलामी, तरुण दल गाउँपालिका अध्यक्ष कृष्ण बलामी, महिला संयोजक निर्मला रुम्बालगायतको आतिथ्यता रहेको थियो ।

ललितपुरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राप्रपाका नेता सुनिलबहादुर थापासहितका नेता तथा कार्यकर्तालाई पार्टीमा भित्र्याएकै दिन राप्रपाका अध्यक्ष कमल थापाको गृहजिल्ला मकवानपुरमा पनि राप्रपा र नेकपाका नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन् ।

Published : Tuesday, 2020 July 28, 8:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया