गाेविन्दराजकाे कारबाही, पुत्र माेह र राताेपासपाेर्ट काण्ड

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ कांग्रेसका संस्थापक गोविन्दराज जोशीलाई पार्टीबाट कारबाही गरेर आफ्नो राजनीति सुरक्षित गर्ने प्रयास गरेका छन् ।

पौडेल कांग्रेसमा जोशीभन्दा निकै जुनियर मानिन्छन् । जोशीले नै पौडेललाई तनहुँ कांग्रेसको जिल्ला सदस्य बनाएका हुन् ।

कांग्रेस हुनुभन्दा अगाडि पौडेल कम्युनिस्ट थिए । पौडेल पछाडि मात्रै कांग्रेसमा प्रवेश गरेका हुन् ।

जोशीका बुबा पहिला नै कांग्रेसको राजनीतिमा सक्रिय थिए । गिरिजाप्रसाद कोइरालाले जोशीलाई भारतमा बोलाएर पौडेललाई तनहुँ कांग्रेसको जिल्ला सदस्य बनाउन भनेपछि नियुक्ति गरिएको थियो ।

तनहुँ कांग्रेसमा जोशी र पौडेलबीच लामो समयदेखि द्वन्द्व छ । त्यो द्वन्द्वलाई पौडेलले सदाका लागि निर्मुल बनाउन जोशीलाई कांग्रेसको अनुशासन समितिमार्फत समाप्त बनाउन खोजेका छन् ।

तर, जन्मजात कांग्रेस भएर जन्मिएका जोशीलाई अनशासन समितिले कारबाही गरेपछि कांग्रेसभित्र तरंग उत्पन्न गरेको छ । अनुशासन समितिको निर्णयलाई कांग्रेसको केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नुपर्छ ।

कांग्रेसका वरिष्ठ नेता पौडेल पक्षधर मानिने डा.मीनेन्द्र रिजाल र डा.शेखर कोइरालाले जोशीसहितका नेताहरूलाई कारबाही गरेकोमा असन्तुष्टि जनाइसकेका छन् ।

पौडेल पक्षकै नेताहरूले जोशीसहितका नेताको पक्षमा आवाज उठानु भनेको कांग्रेसका लागि उनीहरूको योगदान कति छ भनेर सजिलै बुझ्न सकिन्छ ।

अनुशासन समितिमा पौडेलको सिफारिसमा सदस्य बनेका धनराज गुरुङ पनि जोशीलाई जसरी पनि कारबाही गरेर पार्टीबाट निकाल्न चाहन्थे । जोशी गृहमन्त्री भएका बेला गुरुङ रातो पासपोर्ट बेचेको काण्डमा परेका थिए ।

स्याङजा जिल्ला निवासी गुरुङले कुटनैतिक रातो पासपोर्ट दुरुपयोग गरेको अभियोगमा जोशीले फसाएको आरोप लगाउँदै आएका थिए ।

कांग्रेसका वरिष्ठ नेता पौडेलले जोशीलाई निर्वाचनमा अन्तरघात गरेर हराएको आरोप छ । जोशीले बागी उम्मेदवारी दिएको आरोप पौडेलको छ । तर, पौडेलको आरोपलाई जोशीले अस्वीकार गर्दै आएका छन् ।

जोशीको उम्मेदवारीलाई पौडेलकै उजुरीमा निर्वाचन कार्यालय तनहुँले त्यस बेलानै खारेज गरिदिएको थियो । उम्मेदवारी खारेज हुनेवित्तिकै जोशी काठमाडौं आएका थिए ।

जोशीलाई कांग्रेसबाट कारबाही गरेर निकालेपछि पौडेलले आफ्नो र छोरा चिन्तन पौडेलको राजनीति तनहुँबाट सुरक्षित बनाउने बाटोमा लागेको आरोप छ ।

तनहुँ कांग्रेसका संस्थापकलाई हटाएर पौडेलले आफ्नो र छोराको राजनीति सहज रुपमा अगाडि बढाउन सक्ने छैनन् ।

Published : Monday, 2020 July 27, 10:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया