कांग्रेस नेता खतिवडाको पहलमा ओखलढुंगाको पलापुमा बिजुली पुग्यो, खुसी भए गाउँले

चम्पादेवी । ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकाको वडा नम्बर २, पलापुमा बिजुली पुगेको छ ।

नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले पलापुमा बिजुली बाल्ने कार्यको आइतबार उद्घाटन गरेका छन् । खतिवडाले देशभरि बिजुली पुग्दा समेत ओखलढुंगाको पलापुका सर्वसाधारणले बिजुली बाल्न नपाउँदा आफूलाई असजिलो भइरहेको बताए ।

उनले भने, ‘चम्पादेवी गाउँपालिका– २, पलापुका जनताले अब राष्ट्रिय प्रसारणको बिजुली बाल्न पाउनु हुनेछ ।’

जिल्लाको विकासमा सधै आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका खतिवडाले भने, ‘विकास भनेको तेरो र मेरो हुँदैन । सक्नेले गर्ने हो । केही समय राजनीतिका कुरा छाडौँ । विकास गर्ने कुरामा प्रतिस्पर्धा गरौँ ।’

नेपाली कांग्रेस ओखलढुंगाका सभापति प्रदीप सुनुवारले जिल्लाको विकासमा कांग्रेसको विशेष भूमिका रहेको बताए । उनले कांग्रेस पराजित भएपनि ओखलढुंगाको विकासमा कहिल्यै पनि पछाडि नहट्ने बताए ।

कांग्रेस नेता नवराज केसी, वडाध्यक्षद्वय कुलबहादुर श्रेष्ठ, विष्णु पुलामी, कांग्रेस नेता प्रकाश दाहाललगायतको उपस्थितिमा बिजुलीको उद्घाटन गरिएको हो ।

कांग्रेस नेता खतिवडाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग चम्पादेवी गाउँपालिकाको वडा नम्बर २ मा राष्ट्रिय प्रसारणको बिजुली पुर्‍याउन आग्रह गरेका थिए ।

खतिवडाको आग्रह र पहलमा घिसिङले नै पलापुमा बिजुलीको खम्बासहितको प्रसारण लाइन जोडिदिएका हुन् ।

प्रसारण लाइनका लागि स्थानीयस्तरमा कांग्रेस नेता नवराज केसीले विशेष योगदान पुर्‍याएको खतिवडाले बताए ।

गाउँमा बिजुली आएपछि स्थानीयहरू खुसी भएका छन् । गाउँलेहरूले कांग्रेस नेता खतिवडा, सभापति सुनुवारसहितका व्यक्तिलाई फूलमालाले भव्य स्वागत गरेका थिए ।

Published : Sunday, 2020 July 19, 10:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया