सरकार पुग्न नसकेको म्याग्दीका दुर्गम गाउँमा पुगेर कांग्रेसद्वारा राहत वितरण

म्याग्दी । नेपाली कांग्रेस म्याग्दीले धारापानी र बिमका बाढीपहिरो पीडितलाई खाद्यान्न सहयोग गरेको छ ।

म्याग्दी कांग्रेसले गत २५ गते आएको बाढीपहिरोबाट विस्थापित धवलागिरी गाउँपालिका–७ धारापानी र मालिका गाउँपालिका– ६ बिमका १ सय ९४ घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

बिममा १ लाख ६० हजार बराबरको चामल, दाल, नुन लगायतका खाद्यान्न सहयोग गरेको म्याग्दी कांग्रेसका सचिव क्याप्टन मीनबहादुर कार्कीले जानकारी दिएका छन् ।

म्याग्दी कांग्रेसका सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ नेतृत्वको टोलीले बिमका ६० घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

कांग्रेस महासमिति सदस्य चिरञ्जीवी शर्मा, क्षेत्र ‘ख’का उपसभापति मेखबहादुर पुन, सचिव श्रीराम पौडेल लगायतको टोलीले बिम पीडित परिवार सहयोग गरेको छ ।

धवलागिरी गाउँपालिका– ७, धारापानीका १३४ घरपरिवारलाई २ लाख ७५ हजार बराबारको खाद्यान्न सहयोग गरेको क्षेत्र ‘ख’का सभापति कमल छन्त्यालले जानकारी दिए ।

पूर्वसांसद रेशमबहादुर बानियाँ नेतृत्वको टोलीले चामलसहितको खाद्यान्न सहयोग गरेको छ ।

म्याग्दी कांग्रेसका प्रवक्ता अजयमिलन श्रेष्ठ, कांग्रेस मालिका गाउँपालिका कोषाध्यक्ष वीरेन्द्र किसान, तरुण दल म्याग्दीका सचिव नगेन्द्र मल्ल लगायतले पहिरोको अनुगमन समेत गरेका थिए ।

म्याग्दी कांग्रेसले स्थापना गरेको विपत राहत कोषबाट दैनिक उपभोग्य सामान वितरण गर्नुका साथै सबै खालका समस्यामा सहयोग गर्ने सभापति गर्बुजाले बताएका छन् ।

कांग्रेसको राहत कोषमा सहयोग गर्ने सम्पूर्ण दातालाई सभापति गर्बुजाले धन्यवाद दिएका छन् ।

नेपाली कांग्रेस म्याग्दीले दुई दिनअघि नेपाल विद्यार्थी संघ म्याग्दीका अध्यक्ष निर्मल खत्री र तरुण दलका उपाध्यक्ष विश्वास श्रेष्ठको नेतृत्वमा खच्चडमार्फत खाद्यान्न ढुवानी गरि मराङका बाढीपहिरो पीडितलाई ३ लाख ७६ हजार बराबरको राहत वितरण गरिएको थियो ।

Published : Sunday, 2020 July 19, 9:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया