काठमाडौं उपत्यकामा आइतबार छ जनामा कोरोना, १४७ जना निको भए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा आइतबार थप ८२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।

आइतबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा देशभरि पुष्टि भएका संक्रमितको कुल संख्या १६ हजार ८०१ पुगेको जनाइएको छ ।

तीमध्ये ८,४४२ जना अर्थात् ५१ प्रतिशतभन्दा बढी व्यक्ति निको भएका छन् । ३८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा १४७ जना भाइरसमुक्त गएर घर फर्किएको बताए । देशभरि आइसोलेशनमा ८,१७४ जना छन् । उनीहरू सक्रिय सक्रमित हुन् ।

असार १९ गते सर्वाधिक ७४० जनामा संक्रमण पुष्टि भएको थियो । त्यसपछि दैनिक वृद्धिको संख्या घटिरहेको छ । असार महिनाको सुरुतिर हामीले पीसीआर परीक्षण गरेकोमा ११ प्रतिशतको हाराहारीमा कोभिड पोजिटिभ हुने दर थियो ।

असार १९ गतेतिर आउँदा १७ प्रतिशतसम्म पुगेको डा.गौतमले बताएका छन् । हिजोआज यो दुई प्रतिशतमा आएको छ । आइतवार पुष्टि भएका संक्रमितहरू विभिन्न जिल्लाका हुन् । उनीहरू विभिन्न उमेर समूहका भए पनि युवा र पुरुषको संख्या बढी छ ।

अहिले प्रदेश नं १ मा चार, प्रदेश नं २ मा २०, वाग्मती प्रदेशमा १४, गण्डकी प्रदेशमा १५, प्रदेश नं ५ २, कर्णाली प्रदेशमा २१ र सुदूरपश्चिम प्रदेशमा ६ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार उनीहरूमध्ये धनुषाका १९, सुर्खेतका सात, कालीकोटका सात, तनहुँका छ र चितवनका पाँच जना छन् । आइतबार काठमाडौंमा पाँच र ललितपुरमा एक

जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । अहिलेसम्म काठमाडौं उपत्यकामा सङ्कक्रमितको संख्या ३४७ पुगेको सरकारको तथ्याङ्कमा छ ।

महोत्तरी, रौतहट, पाल्पा, कैलाली र बाजुरामा ५०० भन्दा बढी सक्रिय संक्रमितहरू छन् । धनकुटा, भोजपुर, मुस्ताङ, मनाङ र हुम्लामा संक्रमितको संख्या शून्य छ ।

Published : Sunday, 2020 July 12, 9:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया