म्याग्दीमा पहिराे, सात जना बेपत्ता, मुस्ताङ जाने बाटो अबरुद्ध

कुश्मा । म्याग्दी जिल्लामा लगातारको वर्षासँगै पहिरो जाँदा सात जना बेपत्ता भएका छन् ।

धौलागिरी गाउँपालिकाको वडा नम्बर–६ मराङको रिखामा शुक्रबार बिहान सात जना बेपत्ता भएका हुन् ।

घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता भएको मराङका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिएका छन् ।

पहिरोले भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ । भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए ।

भिरालो पाखोमा रहेको घण्टीवाङ गाउँ पहिरोले घेरिएको स्थानीयवासी समेत रहेका वडासदस्य लोकबहादुर पुनले बताए । माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएका उनले बताए ।

घण्टीवाङभन्दा मुनीको रिखामा छ घरको बसोबास थियो । चार घर विस्थापित भएका छन् ।

यसैगरी मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको छ ।

वीरबहादुर पुन र परदेवी पुनको घर बगाएको स्थानीय भुवानी पौडेलले जानकारी दिए । घरका मानिसले भागेर ज्यान बचाएका छन् । भाग्ने क्रममा एक जना घाइते भएका छन् ।

यसैबीच, रघुगङ्गा नदीमा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको राहुघाटस्थित बेलिब्रिज समेत बगाएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताएका छन् ।

नदीको कटानका कारण बेलिब्रिजको राहुघाटतर्फको जिप भत्काएर बगाएको हो । सो पुल म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाटको सीमानामा पर्छ ।

बेलिब्रिज बगाएपछि रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्कविच्छेद भएको छ ।

गलेश्वरका स्थानीय दीपक कार्की बिखर्चीले ठेकेदारले पक्की पुल बनाउन ढिलाइ गर्दा बेलिब्रिज कटानको जोखिममा परेर बगाएको बताए । बेलिब्रिजको छेउमा पक्की पुल निर्माणको क्रममा छ ।

पहिरो प्रभावित मराङको रिखा र कल्लेनीमा ताकम, दरवाङ र बेनीबाट प्रहरी टोली पठाइएको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताएका छन् । प्रहरी टोली घटनास्थल पुगेपछि विस्तृत जानकारी आउने उनले बताए । (फाइल तस्बिर)

Published : Friday, 2020 July 10, 7:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया