महेश बस्नेतले घोषणा गरे प्रचण्ड, माधव, झलनाथ र बामदेवलाई ‘दिल्लीका सिल्ली’, नाङ्गे झार पार्ने

भक्तपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेतले पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेताहरूलाई ‘दिल्लीका सिल्ली’ भनेका छन् ।

कथित नागरिक समाजको नाममा नेकपाका प्रतिनिधि सभा सांसद बस्नेतले आफ्नो गृहजिल्ला भक्तपुरको सूर्यविनायकमा प्रदर्शन गराएका छन् । प्रदर्शनको समाचार र तस्वीर उनले आफ्नो फेसबुक पेजमा सेयर गरेका छन् ।

नेकपाभित्र कुर्सीको लडाइँ चलिरहेको छ । ओलीको समर्थनमा बस्नेतले भक्तपुरका प्रदर्शन गराएर ओलीका विरोधी नेताहरूलाई दिल्लीका सिल्ली भनेका हुन् ।

सडकमा उत्रिएकाहरू नागरिक समाज भएकोे दाबी सांसद बस्नेतले गरेका छन् । तर, प्रदर्शनमा भक्तपुरका नेकपाका नेता तथा कार्यकर्ताहरूको मात्रै उपस्थिति रहेको तस्वीरमा देख्न सकिन्छ ।

प्रदर्शनमा उत्रिएकाहरूले ओलीको राजीनामा माग गर्नेहरूको आलोचना गरेका छन् ।

नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमसहितका ओलीको राजीनामा माग्नेहरूलाई बस्नेतले ‘दिल्लीका सिल्ली’ भनेर आक्षेप लगाएका हुन् ।

केही दिन अगाडि ओलीले सार्वजनिक कार्यक्रममा आफूलाई भारतले प्रधानमन्त्री पदबाट हटाउन लागेको भनेर अभिव्यक्ति दिएका थिए ।

प्रदर्शनका क्रममा बस्नेत समर्थक नेकपाका नेता तथा कार्यकर्ताहरूले नेपालमा बसेर भारतीय दलाल गर्ने जो कोही नेतृत्वलाई कठालोमा समातेर सडकमा पछार्ने बताएका छन् ।

सांसद बस्नेतले आफू निकटका नेताहरूमार्फत दिल्लीका नेपाली सिल्लीहरूलाई कसरी तह लगाउनुपर्छ भन्ने नेपाली नागरिकलाई राम्रो थाहा भएको भन्दै ओलीका विरोधीहरूको दिनगन्ती शुरु हुने चेतावनी दिन लगाएका छन् ।

यसअघि ओलीले आफ्नो समर्थनमा सडक आन्दोलन गर्न आफू समर्थक युवा नेताहरूलाई निर्देशन दिएका थिए ।

बिहीबार राति ९ बजे पूर्वमन्त्री महेश बस्नेत, युवा संघका रमेश पौडेल, ऐन महर, सुनिता बराललगायतलाई बोलाएर ओलीले सडक प्रदर्शन गर्न निर्देशन दिएका थिए ।

ओलीले अब पार्टी फुट्ने भयो, तपाईंहरूले सडक आन्दोलन गरेर साथ दिनुपर्‍यो भनेर आग्रह गरेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले बिहीबार राति १० बजेसम्म बस्नेतसहितका नेताहरूलाई ब्रिफिङ गरेका थिए ।

Published : Friday, 2020 July 3, 11:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया