पशुपति आर्यघाटमा पुगेर देउवासहितका नेताहरूले दिए छन्त्याललाई श्रद्धाञ्जलि

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाकी सांसद ज्ञानकुमारी छन्त्यालको निधिन भएकोमा दुःख व्यक्त गरेको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले छन्त्यालको निधिनबाट पार्टीलाई ठूलो क्षति भएको जनाएका हुन् ।

सांसद छन्त्यालको बुधबार बिहान काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा असामयिक निधन भएको थियो ।

विक्रम संवत २०१४ सालमा बाग्लुङ जिल्लाको साविक खुंखानी–२ हाल तमानखोला–५ मा जन्मिएकी स्व. छन्त्यालले विक्रम संवत २०४६ सालबाट नेपाली कांग्रेस पार्टीमा आवद्ध भई राजनीतिक यात्रा शुरु गरेकी थिइन् ।

उनले नेपाल महिला संघ जिल्ला अध्यक्ष, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य, जिल्ला कार्यसमिति सल्लाहकार जस्ता पार्टीको विभिन्न तहमा रहेर पार्टीको संगठन विस्तार र प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएको कांग्रेस मुख्यालयद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ ।

विक्रम संवत २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवार भई बाग्लुङ जिल्ला क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित भएकी उन २०७४ सालमा समानुपातिक समावेशी प्रणालीबाट निर्वाचित भई प्रतिनिधिसभाको सदस्य भएकी थिइन् ।

प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा छन्त्याल एक राजनैतिक व्यक्तित्वमात्रै नभई सामाजिक व्यक्तित्व रहेको उनले ग्रामीण विकासका कार्यमा देखाएको योगदानले प्रष्ट पारेको कांग्रेस सभापति देउवाले जनाएका छन् ।

उनको निधनले राष्ट्र र नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको जनाइएको छ ।

सांसद स्व.छन्त्यालको बुधबार नै काठमाडौंका पशुपति आर्यघाटमा अन्तिम दाहासंस्कार गरिएको छ । आर्यघाटा पुगेर सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरूले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिएका थिए ।

Published : Wednesday, 2020 July 1, 10:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया