बिहे गरेर आउने विदेशी महिलालाई वडा सदस्यमा पनि उठ्न दिनु हुँदैनः कांग्रेस नेता चौधरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद योगेन्द्र चौधरीले विदेशी महिलालाई विवाह गरेर आउनेवित्तिकै राजनीतिक अधिकारसहितको अंगीकृत नागरिकता दिन नहुने बताएका छन् ।

रिपब्लिका दैनिकसँग कुरा गर्दै कांग्रेस नेता चौधरीले विवाह गरेर आउनेवित्तिकै नागरिकता दिँदा नेपालका चेलीहरूको अधिकार खोसिने बताए । उनले विदेशी महिलाको भन्दा पनि आफ्नै देशका महिला दिदीबहिनीहरूको अधिकारप्रति सबै सचेत बन्नुपर्ने बताए ।

कांग्रेस नेता चौधरीले नेपाली महिलाहरूलाई अधिकार नपुगेका बेला विदेशी महिलालाई वैवाहिक अंगीकृत नागरिकता दिएर राजनीतिक अधिकार दिने कुरा कुनै पनि रुपमा जायज नरहेको बताए ।

केही विदेशी महिलाहरूको अंगीकृत नागरिकताका कारण विवाद भएको स्वीकार गर्दै चौधरीले अब त्यस्ता गल्तीहरू दोहोर्‍याउन नहुने बताएका छन् ।

उनले वैवाहिक अंगिकृत नागरिकता प्राप्त गर्नेहरूको हकमा राजनीतिक अधिकारमा पूर्ण प्रतिवन्ध लगाउनुपर्ने बताएका छन् ।

‘विदेशी महिलालाई वैवाहिक अंगीकृत नपाउँदासम्म वडा सदस्य समेत चुनाव लड्न नपाउनेगरी राजनीतिक अधिकारमा पूर्ण प्रतिवन्ध लगाउनुपर्छ’, कांग्रेस नेता चौधरीले भने, ‘संवैधानिक निकायमा पूर्ण बन्देज लगाउनुपर्छ ।’

उनले प्रशासनिक निकायको सर्वच्चो तह र न्यायिक सेवामा पूर्ण प्रतिवन्ध लगाउनुपर्ने बताएका छन् । ‘आर्थिक, सांस्कृतिक, सामाजिक अधिकार दिनेगरी वैवाहिक अंगिकृत नागरिकता दिइनुपर्छ’, उनले भनेका छन् ।

७ वर्षपछि नागरिकता दिने सवाल र विवाह गरे लगत्तै वैवाहिक अंगिकृत नागरिकता दिने सवालवीच भिन्नता नरहेको उनले बताएका छन् ।

कांग्रेस नेता चौधरीले ७ वर्षपछि राष्ट्रघातीहरू राष्ट्रवादी हुन नसक्ने बताएका छन् । समयभन्दा पनि वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी कडा कानून बनाउनुपर्ने नेता चौधरीको भनाइ छ ।

अधिकारहरू कटौती गरेर मावनतालाई ख्याल राखेर नागरिकता तत्काल दिँदा केही नहुने कांग्रेस नेता चौधरीले बताए ।

नेपाली कांग्रेसले विवाह गरेर आउनेवित्तिकै विदेशी महिलालाई वैवाहिक अंगीकृत नागरिकता दिएर राजनीतिक अधिकार दिने पक्षमा अडान राखेका बेला केन्द्रीय सदस्य चौधरीको यस्तो धारणा आएको छ ।

Published : Tuesday, 2020 June 23, 10:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया