शनिबार उत्सवमय बन्यो सानेपा, नेताहरूको अनुहारमा खुसी, संशोधनलाई साथ दिने

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर जारी भएको नयाँ नक्साको स्वागत गरेका छन् ।

ललितपुरको सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसमितिमो बैठकमा धारणा राख्ने सबै नेताहरूले भारतद्वारा अतिक्रमित नेपाली भूमिहरू समेटेर जारी भएको नयाँ नक्साको स्वागत गरेका हुन् ।

उनीहरूले नयाँ नक्सासहितको निशान छाप कार्यान्वयनका सम्बन्धमा सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनसम्बन्धी विधेयकलाई समर्थन गर्ने बताएका छन् ।

महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा कालापानी, लिपुलेक र लिम्पियाधुराको भू-भाग समावेश गरि नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ संग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गर्दछ भन्ने प्रस्ताव राखेकाे प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाकी सांसद पार्वती डिसी चौधरीले बैठक जारी रहेको बताइन् । उनले नेताहरूले धारणा राख्ने क्रम जारी रहेको उल्लेख गरिन् ।

पार्टी सभापति, पदाधिकारी, प्रवक्तासहितका नेताहरूले यसअघि नयाँ नक्सा र संविधान संशोधनका विषयमा राख्दै आएको धारणालाई केन्द्रीय सदस्य र पदाधिकारीहरूले समर्थन गरेको नेतृ चौधरीले बताइन् । उनले भनिन्, ‘नयाँ नक्सा जारी भएकोमा सबैले स्वागत गर्नुभएको छ । संविधान संशोधन प्रस्तावलाई समर्थन गर्ने धारणा आएका छन् ।’

बैठकमा धारणा राख्ने नेताहरूले वीपी कोइरालादेखि सुशील कोइरालासम्मका नेपाली कांग्रेसबाट प्रधानमन्त्री बनेकाहरू सबैले भारतद्वारा अतिक्रमित भूमि फिर्ता गर्ने विषयमा आ–आफ्नो क्षेत्रबाट प्रयास गरेको भन्दै कांग्रेसका नेताहरूले नयाँ नक्सा मात्रै भएर नपुग्ने अब भारतसँग कुटनैतिक सम्वादन गरेर लिपुलेक, कालापानी, लिम्पियाधुरा, सुस्तासहितका भूमि फिर्ताका लागि पहल गर्नेबारेमा धारणा राखेका छन् ।

बैठकमा धारणा राख्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ नक्साको स्वागत गरेका छन् । उनले संविधान संशोधन प्रस्तावलाई साथ दिएर जानुपर्ने भन्दै कांग्रेसको अडान पनि भारतद्वारा अतिक्रमित भूमि फिर्ता गर्ने नै रहेको बताएका छन् ।

कांग्रेसको बैठक यो समाचार तयार पार्दासम्म सानेपामा बसिरहेको छ ।

कांग्रेसको पार्टी मुख्यालय सानेपामा नयाँ नक्साका विषयमा शनिबार भएको बैठकमा सबै नेताहरू उल्लासमय अवस्थामा रहेको जनाइएको छ । सबै नेताहरूले नयाँ नक्सा जारी भएकोमा खुसी साटासाट गरेको कांग्रेस पार्टी कार्यालयका एकजना कर्मचारीले बताए ।

Published : Saturday, 2020 May 30, 5:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया