भारतबाट आएका व्यक्तिको कोरोनाबाट मृत्यु, काठमाडौं उपत्यकामा संक्रमित फेला

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको जनाएको छ ।

मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाका ३५ वर्षीया पुरुषको मृत्यु भएको जानकारी दिए । ‘मृत्यु भएका व्यक्ति भारतमा काम गर्ने गरेको र आउने क्रममा मृत्यु भएको छ’, उनले भने, ‘जेठ ११ गते नेपाल प्रवेश गर्नेवित्तिकै नमूना लिइएको थियो ।’

अर्घाखाँचीका यी युवकको मृत्यु भएसँगै नेपालमा हालसम्म छ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

मन्त्रालयका प्रवक्ता डा.देवकोटाले शुक्रबार १७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएका छन् । यसमध्ये १६५ जना पुरुष र ५ जना महिला रहेका छन् । शुक्रबार ललितपुरमा एक जनामा कोरोना पोजेटिभ देखिएको छ ।

डा.देवकोटाका अनुसार कोशी अस्पतालको प्रयोगशालामा गरिएको नमूना परीक्षणमा २७ जनालाई पोजेटिभ देखिएको छ । उनीहरू झापा जिल्लाको कचनाकवलका २४ जना रहेका छन् । ती सबै १८ देखि ४१ वर्षका पुरुषहरू रहेका छन् । झापाकै तयारीभिट्टाका तीन जना २४ देखि ५४ वर्षका पुरुष रहेका छन् ।

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरी जिल्लाको राजविराजका चार जनामा संक्रमण देखिएको डा.देवकोटाले बताए । उनीहरू २० देखि २६ वर्षका पुरुष रहेका छन् ।

झापा जिल्लाको भद्रपुरका ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । धरानमा भएको नमूना परीक्षणमा ५ जनामा पोजेटिभ देखिएको डा.देवकोटाले बताए ।
नारायणी अस्पतालको प्रयोगशालामा ९ जनालाई पोजेटिभ देखिएको छ । बारा जिल्लाको प्रचौताका राष्ट्रिय मावि क्वारेन्टाइनमा रहेका ४ जना रहेका छन् । उनीहरू २७ देखि ४५ वर्षसम्मका पुरुष रहेका छन् ।

पर्सा जिल्लाको पोखरियाका चार जना २१ देखि ४२ वर्षका पुरुष रहेका छन् । पसाकै जिराभवानीका ३४ वर्षीया पुरुषमा पनि पोजेटिभ देखिएको छ ।

पाटन अस्पतालको प्रयोगशालामा गरिएको नमूना परीक्षणमा परीक्षणमा पोजेटिभ देखिएको छ । सर्लाही जिल्ला स्थायी घर भई हाल पाटन अस्पतालमा रहेकी ३१ वर्षीया महिलामा पोजेटिभ देखिएका प्रवक्ता डा.देवकोटाले बताए ।

गण्डकी अस्पतालको प्रयोगशालामा गरिएको नमूना परीक्षणमा म्याग्दी जिल्ला मालिकाका ३० वर्षीय पुरुषमा पोजेटिभ देखिएको छ ।

भेरी अस्पालको प्रयोगशालामा गरिएको नमूना परीक्षणमा १० जनालाई पोजेटिभ देखिएको छ । बाँके जिल्लाको डुडुवा निवासी उनीहरू १७ देखि ४१ वर्षका पुरुष रहेका छन् ।

भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको नमूना परीक्षणमा छ जनालाई पोजेटिभ देखिएको छ । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकाका ४ जना २३ देखि २६ वर्षीय पुरुष रहेको डा.देवकोटाले बताए ।

नवलपरासी जिल्लाको बर्दाघाट सुस्तापूर्व देवचुलीका २ जना १९ र २१ वर्षीय पुरुषमा पोजेटिभ देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ८४ जनाको पोजेटिभ आएको छ । उनीहरूमध्ये योशोधराका भृकुटी माविको कृष्णानगरमा रहेका २३ जनामा पोजेटिभ देखिएको छ । ७ वर्षीय बालकदेखि ५२ वर्षीयासम्मका पुरुष रहेको डा.देवकोटाले बताए ।

रौतहट जिल्लाको राजपुर फर्दवाको जनता मावि डुमरियामा रहेको क्वारेन्टाइनका ५६ जनामा पोजेटिभ देखिएको छ । दुई जना बालिका रहेका छन् । पुरुषहरू २२ देखि ७० वर्षसम्मका रहेका छन् ।

सर्लाही जिल्लाको पौदिना मलंगवाका १९ देखि ३० वर्षका चार जनामा पोजेटिभ देखिएको छ । उनीहरूमध्ये १ जना महिला र ३ जना पुरुष रहेका छन् ।

रुपन्देही जिल्लाको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनाको पोजेटिभ आएको छ । कपिलवस्तु जिल्लाको गौतम बुद्ध माविको क्वारेन्टाइनका १५ जनामा पोजेटिभ देखिएको छ । उनीहरू १७ देखि ४४ वर्षका पुरुष रहेका छन् । रुपन्देही जिल्लाको सैनामैनाका एक जना २७ वर्षीय पुरुषमा पोजेटिभ देखिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनाको पोजेटिभ आएको छ । दाङ जिल्लाको गढवा गाउँपालिकाका दुई जना रहेका छन् । २८ र ४१ वर्षका पुरुष रहेका छन् । कपिलवस्तु जिल्लाको विजयनगरका ९ जना १७ देखि ५२ वर्षका पुरुषहरू रहेका छन् ।

नेपालमा शुक्रबार चार बजेसम्म कुल संक्रमित हुनेको संख्या एक हजार दुई सय १२ पुगेको छ । पोजेटिभ हुनेमध्य १ सय ९ जना महिला र १ हजार १ सय ३ जना पुरुषमा रहेका छन् । ५२ जिल्लामा कोरोनाको संक्रमण देखिएको छ ।

Published : Friday, 2020 May 29, 8:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया