कोरोना रोकथाम र लकडाउनमा सरकार असफल, कांग्रेसले केन्द्रीय समितिमार्फत आक्रामक निर्णय लिने

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले लकडाउनको २ महिनाको स्थितिको समीक्षा, सीमा प्रश्नमा धारणा प्रष्टता लगायतका विषयमा निर्णय गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको छ ।

ललितपुरको सानेपामा आइतबार बसेको पदाधिकारी बैठकले केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसले कोरोनाविरुद्धको संघर्ष क्रममा सरकारले समयमै गम्भीरता नराख्दा संक्रमितको संख्या व्यापक बढेको भन्दै ३ जनाको मृत्यु समेत भइसकेको जनाएको छ ।

कोरोनापछिको स्थितिलाई पार्टीको पदाधिकारी बैठकले गम्भीरतापूर्वक लिंदै सरकारलाई स्थितिको गहन समीक्षा गरेर युद्धस्तरमा कार्य गर्न अपील र माग गरेको शर्माले बताए ।

‘नेपालमा पहिलो संक्रमित भेटिएको ४ महिना र लक डाउन भएको २ महिना पूरा हुँदासम्म अझै पनि परिक्षण सुस्त गतिमा हुनु, पर्याप्त स्वास्थ सामग्री नहुनु र क्वारेन्टाइनहरू नाम मात्रको हुनु, राहतको पर्याप्त प्याकेजको प्रबन्ध गर्न सरकारले नसक्नु सरकारको गैह्र जिम्मेवारी र असक्षमताका रूपमा बैठकले लिएको छ’, कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले भनेको छ, ‘काममा गति बढाउन, आवश्यक सम्पूर्ण प्रबन्ध गर्न र पीसीआर परीक्षण निःशुल्क रुपले व्यापक बढाउन बैठकले सरकार समक्ष माग गरेको छ ।’

‘भारतको विभिन्न शहरबाट सीमामा आइपुगेका नेपालीलाई ब्यवस्थित ढंगले प्रवेश गराउन, क्वारेन्टाइनमा राख्न र पीसीआर परीक्षण पश्चात् मात्रै घर पु¥याउने प्रबन्ध गर्न बैठकले सरकार समक्ष माग गरेको छ’, कांग्रेसले भनेको छ ।

‘सरकारले यो बिषयमा गम्भीर ध्यान नदिएर ब्यवस्थित योजना साथ कार्य नगरिरहेको चित्रले आगामी दिनमा स्थिति झनै जटिल बन्न सक्ने तर्फ सरकारलाई सतर्क गराउँदै नागरिकको जीवनप्रति खेलवाड नगर्न बैठकले सरकारलाई चेतावनी दिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई उद्दार गर्ने ब्यवस्थित कार्य योजना निर्माण गर्न सरकारले गरेको ढिलाइलाई आफ्ना नागरिकप्रतिको असंवेदनशील ब्यवहार ठहर गर्दै बैठकले यथाशीध्र आवश्यक योजना सार्वजनिक गरेर अप्ठ्यारोमा परेका नेपालीको उद्दार थाल्न सरकार समक्ष माग गरेको छ’, प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘अन्य विविध कारणले विदेशमा मृत्यु भएका करीब दुई सय भन्दा बढी नेपालीको शव नेपाल ल्याउने प्रबन्ध तत्काल मिलाएर शोकमा रहेका परिवारजनको पीडामा मल्हम लगाउने राज्यको कर्तव्य पालना गर्न बैठकले सरकारलाई आग्रह गरेको छ’, प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पदाधिकारीको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, राष्ट्रिय सभामा प्रतिपक्षी नेता राधेश्याम अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2020 May 24, 9:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया