जिउँदो पूर्वप्रधानमन्त्रीलाई श्रद्धाञ्जलि भन्ने सत्तारुढ अखिलका महरलाई प्रहरीले कारबाही गर्ला ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का संयोजक ऐन महरले आफ्नो पदीय आचरण विपरितको टिप्पणी गर्दा आलोचित बन्नु परेका छन् ।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई संयोजक महरले शनिबार सामाजिक सञ्जाल फेसबुकमा श्रद्धाञ्जलि लेखेर आलोचना गरेका छन् । उलने लेखेका छन्, ‘धेरै पढे विद्वान हुन्छ, विद्वान बिग्रे बाबुराम हुन्छ भन्थे पुष्टि हुँदै छ । यी गद्धार दलाल राष्ट्रघातीलाई हार्दिक श्रद्धाञ्जलि !’

संयोजक महरको टिप्पणीलाई सत्ताको उन्मादममा जथाभावी लेखेको भनेर आलोचना भएको छ । उनले जिउँदो मान्छेलाई श्रद्धाञ्जलि लेख्नु आफैमा गम्भीर गल्ती हो । उनलाई साइबर अपराध ब्युरोले कारबाही गर्छ वा गर्दैन हेर्न बाँकी छ ।

प्रहरीको साइबर क्राइम ब्युरोले सामाजिक सञ्जालमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सत्तारुढ दलका नेताहरूलाई सामाजिक सञ्जालमा कसैले आलोचना गर्दा पक्राउ गरेर कारबाही गर्ने गरेको छ । केही व्यक्तिहरूले राष्ट्रपति र प्रधानमन्त्रीको सामाजिक सञ्जालमा आलोचना गरेको भन्दै जेलमा सजाय भोगिरहेका छन् ।

अनेरास्ववियुका संयोजक महरलाई प्रहरीले कारबाही गर्छ वा उन्मुक्ति दिन्छ हेर्न बाँकी छ ।

साइबर ब्युरो भोटाहिटीका प्रहरी निरीक्षक प्रवीण ताम्राकारले यो विषय आफूहरूले नहेर्ने बताए । उनले भने, ‘कोरोनाका बेला उपत्यकाभित्रको साइबर क्राइमको केस अपराध महाशाखा टेकुले हेर्छ । हामीले होइन ।’ ताम्राकारले सामाजिक सञ्जालमा लेख्दा जो कसैलाई पनि कारबाही गर्नुपर्ने बताए ।

अनेरास्ववियुका संयोजक महरलाई जिउँदो मान्छेलाई श्रद्धाञ्जलि लेख्ने कार्य गरेको भन्दै साइबर क्राइममा मुद्धा चलाएर कारबाहीको माग उठेको छ ।

विवादित हर्कत गर्दै आएका अनेरास्ववियुका संयोजक महरले सरकार र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कसैले आलोचना गर्‍यो भने ‘अरिँगाल’ बनेर प्रतिवादमा उत्रिने गरेका छन् ।

प्रधानमन्त्री ओलीले एक वर्ष अगाडि धुम्बाराहीमा सरकारको आलोचना भयो भने ‘अरिँगाल’ बनेर प्रतिवाद गर्नु भनेर निर्देशन दिएका थिए । ओलीको त्यो निर्देशनलाई अनेरास्ववियुका संयोजक महरले ईमान्दारिताका साथ पालना गर्दै आएको भनेर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

Published : Saturday, 2020 May 23, 9:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया