अमेरिकाले बेलायतसँग बुक गर्‍यो ३० करोड वटा कोरोना खोप

न्युयोर्क । अमेरिकाले कोरोना भाइरसविरुद्ध खोप निर्माण अगाडि नै बेलायतकाे एक कम्पनीलाई १ अर्ब २० करोड डलरसम्म उपलब्ध गराउने निर्णय गरेको छ ।

कोरोनाविरुद्धको खोप बेलायतले अन्य देशको तुलनाभन्दा राम्रो उपलब्धी पाएको छ ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माता कम्पनी आस्ट्राजेनेकाको अनुसन्धानलाई तीव्रता दिन अमेरिकाले एक अर्ब २० करोड डलरसम्म उपलब्ध गराउने भएको हो ।

अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभागले बिहीबार उक्त निर्णय गरेको छ ।

लगानीका लागि अमेरिकाले दुईवटा सर्त राखेको छ । पहिलो, उक्त खोपको तेस्रो चरणको क्लिनिकल परीक्षण अमेरिकामा गर्नुपर्नेछ । दोस्रो, आस्ट्राजेनेकाले कम्तिमा ३० करोड वटा खोप अमेरिकालाई उपलब्ध गराउनेछ ।

आउँदो अक्टोबरसम्म पहिलो खाेप उपलब्ध हुनेछ । परीक्षण सफल हुनेबित्तिकै ३० करोड वटा खोप बुक गर्न अमेरिकाले गरेको लगानी मानिएको छ ।

अमेरिकाका करिब ३० हजार स्वयंसेवीमा यसको क्लिनिकल परीक्षण गर्ने सम्झौता भएको छ ।

बेलायती–स्वीडिस कम्पनी आस्ट्राजेनेकाले अनुसन्धान सँगसँगै उत्पादन क्षमता विस्तार गर्न विभिन्न देशका सरकार तथा संस्थाहरूसँग सम्झौता गरेको छ ।

कम्पनीको उत्पादन क्षमता अहिले नै एक अर्ब डोज छ । पहिलो चरणमा कम्तिमा ४० करोड डोज उत्पादन गर्नेछ ।

पहिलो खाेपको डेलिभरी सेप्टेम्बरबाट सुरू हुने कम्पनीले दाबी गरेको छ ।

विश्वभरि सस्तो र सहज रूपमा खोप उपलब्ध होस् भनेर आस्ट्राजेनकाले संसारका सात देशबाट एकैचोटि उत्पादन गर्ने लक्ष्य राखेको छ । भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले पनि खोप उत्पादन गर्न पाउनेछ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०२० अन्त्यसम्म खोप विकास गर्ने उद्देश्यले अपरेसन र्‍याप स्पिड घोषणा गरेका छन् ।

यो परियोजनाले गरिब मुलुकहरूलाई पनि सहज उपलब्ध हुने गरी सस्तो मूल्यको खोप विकास गरिरहेको छ ।

यसले अहिलेसम्म बाँदरमा सफल परीक्षण गरिसकेको छ । मान्छेमा परीक्षण सफल हुनुअघि नै १० लाख वटा खोप निर्माणको काम अघि बढाइसकेको आस्ट्राजेनेकाले जनाएको छ ।

अक्सफोर्डका वैज्ञानिकले गत महिना पहिलो चरणको क्लिनिकल परीक्षण सुरू गरेका थिए ।

बेलायतका १ हजार १ सय जनालाई खोप लगाइएको थियो । दोस्रो र तेस्रो चरणको परीक्षण यो महिना अन्त्यसम्म बेलायतमा सुरू हुनेछ । यसपालि पाँच हजार जनाले भाग लिनेछन् ।

परीक्षण सफल भयो भने संसारभरि आकस्मिक प्रयोगका लागि सेप्टेम्बरसम्म अनुमति प्राप्त हुने वैज्ञानिकहरूले अपेक्षा गरेका छन् ।

दोस्रो चरणमा ६०० जनामा खोप परीक्षण गरिनेछ । त्यसपछि जुलाइबाट सुरू हुने तेस्रो चरणको परीक्षणमा हजार जना स्वस्थ व्यक्तिलाई खोप लगाइनेछ ।

यी तीनै परीक्षणबाट सकारात्मक नतिजा आयो भने यो वर्षको अन्त्य वा २०२१ को सुरूबाट व्यापक प्रयोगमा ल्याइनेछ ।

Published : Friday, 2020 May 22, 6:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया