नेकपाका कार्यकर्तालाई पैसा खुवाउन अपाङ्ग र विधवाको भत्ता कटेको महिला संघको आरोप

काठमाडौं । नेपाल महिला संघले अपाङ्गता भएका नागरिकहरू र एकल महिलालाई कांग्रेस नेतृत्वको सरकारको समयदेखि दिंदै आएको भत्ता कम्युनिस्ट सरकारले कटौति गरेको भन्दै आपत्ति जनाएको छ ।

संघकी अध्यक्ष उमा रेग्मीले बिहीबार विज्ञप्ति जारी गरेर अपाङ्गता भएका र एकल (विधवा) महिलाको भत्ता कटौटि नगर्न माग गरेकी हुन् ।

‘कम्युनिस्ट सरकारले एकल महिलालाई ६० वर्ष उमेर पुगेपछि मात्र दिने भनेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नीलो कार्ड लिएका अपाङ्गता भएका व्यक्तिहरूले सरकारको सानो सहयोगलाई आफ्नो बाच्ने आधार बनाइरहेका थिए ।’

‘उनीहरूले खाइपाइ आएको पूरै भत्ता कटौति भएको छ’, रेग्मीले भनेकी छिन्, ‘यो कस्तो अमानवीय निर्णय हो ? के कसैको बसमा छ र ? कि कुनै पनि महिलाको पति उनको उमेर ६० वर्ष पुगेपछि मात्र मृत्यु हुन्छ ?’

‘सरकारले अनावश्यक खर्च गरिरहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाको कहरबाट देश र सातलमा पुग्न लाग्दा पनि आफ्ना कार्यकर्ताहरूलाई विभिन्न आयोग र समितिहरूमा भर्ती गरि ख्वाउने काम गरिरहेको छ ।’

‘यसले के पुष्टि हुन्छ भने सरकार नागरिकहरूका दुःख पीडाप्रति सम्बेदनशील छैन्’, अध्यक्ष रेग्मीले भनेकी छिन्, ‘यो अमानवीय गैरजिम्मेवारी निर्णयलाई तुरुत्त सच्चाउन नेपाल महिला संघ जोडदार माग गर्दछ । यस कदमको घोर भर्त्सना गर्दछ ।’

कम्युनिस्ट सरकारले निर्णय नसच्याएको खण्डमा कडा कदम चाल्न बाध्य हुने संघले चेतावनी दिएको छ ।

Published : Thursday, 2020 May 21, 9:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया