कोरोना दोस्रो चरणमा प्रवेश गर्‍यो, हेलचेक्र्याइ नगरौँः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमणको परीक्षणमा हेलचक्र्याइँ नगर्न सरकारलाई आग्रह गरेको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गरेर परीक्षणको दायरा बढाउनुपर्ने सुझाव दिएको छ । कांग्रेसले परीक्षण गर्न सरकार कुन साइतको पर्खाइमा छ ? भनेर प्रश्न गरेको छ ।

‘अब रत्तिभर हेलचक्र्याइँको अर्थ हुनेछ, समुदायमा संक्रमण फैलन छुट । जसको परिणाम भयावह हुन सक्छ’, शर्माले भनेका छन्, ‘समयको गम्भीरता अनुरूप सरकारले गति बढाओस् ।’

शर्माले सरकारलाई कोरोनामा चीनको सफलताबाट सिक्नुपर्ने सुझाव दिएका छन् । ‘चीनको सफलताबाट सिक्ने कि कतिपय देशको झैं भयावह स्थिति प्रतीक्षा गर्ने ?’, उनले प्रश्न गरेका छन् ।

कैलालीमा एक स्थानीय महिलामा संक्रमण देखिएको विषयलाई गम्भीरतापूर्वक लिन उनले सरकारलाई आग्रह गरेका छन् ।

‘यसअघि संक्रमण देखिएका ६ जना विदेशबाट आएका नेपाली थिए’, प्रवक्ता शर्माले भनेका छन्, ‘सातौंमा संक्रमण स्थानीयमा देखिनुको अर्थ हो हामी अब गम्भीरताको दोस्रो चरणमा पुगेका छौं ।’

उनले उडान रोक्ने, बाहिरबाट आएका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने र परीक्षणको दायरा विस्तार गर्ने कार्य सरकारले समयमै गरेको भए खतराको आकार बढेर नजाने बताए ।

‘सरकारलाई हाम्रो अपील छ, यसअघि संक्रमित देखिएका सबैको परिवारजन, छरछिमेकी र घुलमिल भएका साथी समूहको परीक्षण, परीक्षण र परीक्षण, तत्काल, तत्काल र तत्काल गरौं’, कांग्रेसका शर्माले भनेका छन् ।

भारतलगायत विदेशबाट आएका नेपालीलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्न कडाइका साथ सूचना जारी गर्न उनले माग गरेका छन् ।

‘सबै खाले ढिलासुस्ती र अकर्मण्यतालाई आहुती दिएर व्यापक सतर्कता, व्यापक परीक्षण र व्यापक उपचार बढाउने क्रममा सरकार युद्धस्तरमा प्रवेश गर्नुपर्छ’, शर्माले भनेका छन् ।

Published : Saturday, 2020 April 4, 8:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया