लकडाउनका बेला भारतबाट जोखिम मोलेर नेपाल भित्रिए १९ नेपालीहरू

दार्चुला । दार्चुला जिल्लाको व्याँस गाउँपालिकाका १९ जना महाकाली तरेर क्वारेन्टाइनमा बस्न आएका छन् ।

भारतको धार्चुलामा रहेका नेपालीहरूलाई लकडाउनका कारण नेपाल प्रवेश गर्न दिइएको छैन । उनीहरू जोखिम मोलेर महाकाली नदी तरेर नेपाल प्रवेश गरेका हुन् ।

व्याँस गाउँपालिका वडा नम्बर ३ सिनाका १७ जना र वडा नम्बर ४ डोकटका २ जना गरि १९ जना गाउँपालिकाले स्थापना गरेको सम्पाल मावि सुन्सेरामा रहेको क्वारेन्टाइनमा बिहीबार आएका व्याँस गाउँपालिकाका अध्यक्ष दिलिपसिंह बुढाथोकीले जानकारी दिए ।

व्याँस गाउँपालिका—३ का अमर कुवर, कुसल सिंह धामी, बिक्रम सिंह धामी, रमेश कुवर, भुपेन्द्र सिंह धामी, पोखर सिंह डडाल, मोहन सिंह कुँवर, कल्यान सिंह कुँवर, सुवीर सिंह धामी, रमेश धामी, नरेन्द्र कुँवर, दिलिप धामी, उमेशसिंह धामी, रुपसिंह धामी, अकबर कुँवर, भरत धामी र दीपेश कुवर बिहीबार राति महाकाली तरेर क्वारेन्टाइनमा बस्न आएका हुन् ।

भारतबाट फर्किएका वडा नम्बर ४ डोकटका कल्याण विष्ट र प्रेमसिंह विष्ट पनि क्वारेन्टाइनमा बस्न आएको उनले बताए ।

गाउँपालिकाले जिल्ला बाहिरबाट आउने मानिसहरूको तथ्याङ्क राख्न थालेपछि आफूपनि क्वारेन्टाइनमै बस्न आएको कल्याण विष्टले बताए ।

गाउँपालिकाले अहिले महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण, रोकथाम तथा रोगका लक्षणबारे स्थानीयलाई सचेत गराउन थालेको छ ।

१४ दिन सम्म क्वारेन्टाइनमा बस्नु पर्ने बारे गाउँपालिकाले आग्रह गरिरहेकाले आफूहरू पनि क्वारेन्टाइनमा बस्न तयार भएर आएको उनले बताए ।

भारतमा खान, बस्न अप्ठ्यारो भएपछि जोखिम मोलेरै भएपनि आफ्नै देशमा आएको भुपेन्द्र सिंह धामीले बताए ।

कोरोना रोगबारे आफूहरूलाई ज्ञात भएको बताउँदै सचेत नागरिकको परिचय दिन पनि आफै क्वारेन्टाइन आएको उनकोे भनाइ छ ।

व्याँस गाउँपालिकामा अहिले भारतका विभिन्न सहरहरूबाट आएका ३ जना दार्चुलाका र एक जना जुम्लाका गरि ४ जना केही दिनदेखि क्वारेन्टाइनमा बसिरहेका छन् ।

वडा नम्बर ६ मा रहेको अपिनाम्पा क्याम्पस हुतीको क्वारेन्टाइनमा व्याँस ६ का २६ वर्षीय लोकेन्द्र विष्ट, सोही ठाउँका ३८ वर्षीय नरेन्द्र विष्ट, वडा नम्बर ५ का २० वर्षीय भैरव कुँवर रहेका छन् । सम्पाल मावि सुन्सेरामा जुम्लाका ६५ वर्षीय टोवा तामाङ बसेका छन् ।

व्याँस गाउँपालिकामा चैत १ गतेदेखि २० गतेसम्म स्वदेशका विभिन सहरबाट १७६ जना र विदेशबाट १६ जना गरि जम्मा १९२ जना भित्रिएका छन् ।

Published : Friday, 2020 April 3, 7:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया