सांसदहरूको स्वकीय सचिवका लागि रास्वपाको मापदण्ड, नातेदार नियुक्त नगर्न निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्वकीय सचिव राख्ने विषयमा मापदण्ड बनाउँदै आफन्त र नातेदारलाई नियुक्त नगर्न निर्देशन दिएको छ ।

शुक्रबार रास्वपाका महामन्त्री विपीनकुमार आचार्यले निर्देशन जारी गरेर संघीय सांसदहरूको स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनसम्बन्धी आन्तरिक निर्देशन दिएका छन् । उनले नातावाद र परिवारवादको पूर्ण निषेध गर्न भनेका छन् ।

‘स्वकीय सचिव नियुक्ति गर्दा पार्टीको विधान र सुशासनको मूल नीतिअनुरूप एकाघरका सदस्य वा नजिकका नातेदारहरूलाई पूर्ण रूपमा निषेध गरिएको छ,’ निर्देशनमा भनिएको छ, ‘यो नियुक्ति पारिवारिक र नातागोताको परिधिभन्दा बाहिरबाट मात्र हुनुपर्नेछ ।’

झण्डै दुईतिहाइको रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले हालै कानूनमा संशोधन गरेर सांसदहरूले शाखा अधिकृत सरहको स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेको छ । जेनजी आन्दोलनपछि बनेको तत्कालीन सुशीला कार्की सरकारले सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था हटाएको थियो । बलेन सरकार आउनेवित्तिकै राज्यलाई ठूलो आर्थिक भार पर्ने गरेर सांसदहरूलाई शाखा अधिकृत सरहको सुविधान पाउने गरेर स्वकीय सचिव राख्न दिने निर्णय गरेको छ ।

राज्यकोषबाट प्राप्त हुने यस सुविधाको उच्चतम सदुपयोगलाई सुनिश्चित गर्दै स्वकीय सचिव नियुक्ति प्रक्रियालाई पारदर्शी, मितव्ययी, र जनउत्तरदायी बनाउन रास्वपाले आन्तरिक निर्देशन जारी गरेको जनाएको छ ।

रास्वपाले स्वकीय सचिवको शैक्षिक योग्यता स्नातक हुनुपर्ने पनि भनेको छ । ‘उम्मेदवारले संघीय संसद् सचिवालयले तोकेको न्यूनतम शैक्षिक योग्यता (स्नातक तह वा सोसरह उत्तीर्ण) अनिवार्य रूपमा हासिल गरेको हुनुपर्नेछ । सम्बन्धित क्षेत्रमा विज्ञता, प्रविधिमैत्री क्षमता, अनुसन्धान कौशल र पार्टीको मूल्य–मान्यताप्रति निष्ठावान् व्यक्तिलाई प्राथमिकता दिनुपर्नेछ,’ निर्देशनमा भनिएको छ ।

महिला, सीमान्तकृत समुदाय र पछाडि पारिएका वर्गलाई प्राथमिकता दिई समावेशितालाई प्रोत्साहन गर्न, स्वार्थ नबाझिएको र दोहोरो सुविधा नलिएको व्यक्ति छान्न रास्वपाका महासचिव आचार्यले निर्देशन दिएका छन् ।

रास्वपाले स्वकीय सचिवको छनोट सार्वजनिक आह्वान वा खुला प्रतिस्पर्धात्मक विधिबाट गरिनुपर्ने, नियुक्तिका लागि संसदीय दलबाट स्वीकृति लिनुपर्ने निर्देशन दिएको महासचिव आचार्यले जनाएका छन् ।

Published : Friday, 2026 July 24, 11:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया