बेलायतबाट डा.सुवेदीले भने, ‘सिमानामा आइपुगेका नेपालीहरूलाई देश प्रवेश गर्न देउ’

लण्डन । बेलायतस्थित एकजना अन्तर्राष्ट्रिय कानूनविदले नेपाल–भारत सीमामा आइपुगेका सयौं नेपालीहरूलाई नेपाल सरकारले स्वदेश फिर्न दिनुपर्ने जनाएका छन् ।

ब्रिटेनको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा.सूर्य सुवेदीले नेपाल सरकारले आफ्ना नागरिकहरूलाई नेपाल–भारत सीमामा रोक्न नमिल्ने बताए ।

कोरोना संक्रमण रोक्न भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत मार्च २५ तारिख मध्य रातिदेखि तीन सातासम्म पूरै देश ‘लक डाउन’ गर्ने घोषणा गरेपछि ठूलो दुःख खेप्दै श्रमिकको रुपमा भारतमा काम गरिरहेका सयौं नेपालीहरू सुदूरपश्चिम नेपालको नेपाल–भारत सीमामा आइपुगेका छन् ।

नेपालमा पनि लक डाउन भएको जनाउँदै नेपाली अधिकारीहरूले उनीहरूलाई नेपाल प्रवेश गर्न अनुमति नदिएर सीमामै रोकी रहेका छन् ।

‘यो नेपालको संविधानमा उल्लेखित नागरिकको हकको भावना र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय मानवीय कानून तथा मानवीय कानूनसम्बन्धि सन्धिहरूका अनुसार गैर कानूनी हुन्छ’, प्राध्यापक सुवेदीले भने, ‘सन्धि कानून र अन्तर्राष्ट्रिय कानूनअनुसार पनि आफ्नो मुलुक फर्कन पाउने नेपाली नागरिकहरूको हक नेपाल सरकारले सुनिस्चित गर्नै पर्दछ ।’

प्रा.सुवेदीले कोरोना संकटका कारण एउटा राष्ट्रिय र अन्तर्राष्ट्रिय आपत्कालीन अवस्था उत्पन्न भएको र यस्तो बेला नेपाल तथा भारत दुवै मुलुकले राम्रो संयोजनका लागि तत्काल एउटा संयन्त्र बनाउनुपर्ने बताए ।

‘राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनअनुसार केन्द्रीय सरकार, स्थानीय तह तथा प्रादेशीक सरकारहरूको जिम्मेवारी उही हो’, उनले भने, ‘सबै तहका सरकारले यस्तो विषयमा समन्वय गर्नका लागि तत्काल एउटा कार्यविधि बनाउन समझदारीमा पुग्नुपर्छ ।’

यसैबीच एउटा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले नेपाल सरकारले आफ्ना नागरिकको स्वदेश फर्कन पाउने हक हनन् गर्न नमिल्ने बताएको छ ।

न्यूयोर्कमा मुख्यालय रहेको उक्त संस्थाले नेपाली अधिकारीहरूले पर्याप्त क्वारन्टीनको व्यवस्थापन नहुँदा आफ्ना नागरिकलाई स्वदेश फर्काउन खासै पहल नगरेको आरोप लगाएको छ ।

नागरिकको आवश्यकतालाई सम्बोधन नगरी घर फर्कनबाट प्रतिबन्ध लगाइनु आधारभूत मानवअधिकारको उल्लंघन भएको ह्युमन राइट्स वाचले जनाएको छ ।

उसले नेपाल सरकारलाई आफ्ना नागरिकलाई तत्कालै घर फर्कन दिन र विदेशमा रहेका आफ्ना नागरिकको रक्षा गर्न पनि आग्रह गरेको छ ।

महाकाली नदीपारि धार्चुलामा अहिले सयौं नेपाली नागरिकहरू अलपत्र परेका छन् । उनीहरूलाई स्थानीय भारतीय अधिकारीहरू तथा सामाजिक संस्थाहरूले खानाको प्रवन्ध मिलाउन थालेका छन् । तर, त्यो अपर्याप्त भएको अलपत्र परेका नेपालीहरू बताउँछन् ।

ज्यानको बाजी लगाएर महाकाली नदी पार गरेर नेपाली सीमामा प्रवेश गरेका केही नेपालीहरूलाई पक्राउ गर्ने नेपाल प्रहरीको कामको सामाजिक संजालमा व्यापक आलोचना भएको छ ।

Published : Thursday, 2020 April 2, 4:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया