ज्याला मजदुरी गर्नेलाई फास्ट ट्रयाकबाट राहत दिनुपर्छः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले हालै ल्याएको राहत सकरात्मक भए पनि पर्याप्त नभएको टिप्पणी गरेका छन् ।

सभापति देउवाले मंगलबार विज्ञप्ति जारी गरेर सरकारले ल्याएको आर्थिक राहतको सम्बन्धमा किस्ता तिर्ने समयावधि बढाएर मात्रै नपुग्ने बताए । देउवाले २० लाख ऋण लिएर व्यवसाय गरेकालाई सरकारले तीन महिनाको ब्याज मिनाहा गरिदिनुपर्ने बताएका छन् ।

उनले संकटका बेला सरकारलाई हरतरहले सघाइरहेको बताएका छन् ।

‘सरकारमा सँगै नरहे पनि यस्तो अवस्थामा सँगै लड्न सकिन्छ भन्ने भावनामा दृढ छौं’, देउवाले भनेका छन्, ‘लकडाउनलाई इमान्दारिताका साथ पालना गर्न आग्रह गर्छु ।’

उनले मंगलबार दिउँसोसम्म पनि देशका कयौं ठाउँमा पीपीईलगायत स्वास्थ्य सामग्री नपुगेको विवरण आइरहेको भन्दै छिटो सामग्री पठाउन सरकारको ध्यानाकर्षण गरेका छन् ।

देउवाले डेरा गरि बस्ने विद्यार्थीलाई फरक राहत कार्यक्रम ल्याउन पनि माग गरेका छन् । ज्यालादारी श्रमिकलाई फाष्ट ट्रयाकबाट राहत दिन सरकारसँग उनको माग छ ।
देउवाले सञ्चारमाध्यमलाई छुट्टै राहत दिन पनि माग गरेका छन् ।

भारतबाट आएर दार्चुला प्रवेश गर्न चाहनेलाई व्यवहारिक हल खोज्नुपर्ने देउवाको भनाइ छ । धार्चुलामा सात सयभन्दा बढी मानिस स्वदेश फर्कन चाहिरहेका छन् । लकडाउनका कारण भन्दै सरकारले प्रवेश गर्न रोकेको छ ।

देउवाले भारतलगायत ठाउँमा रहेका नेपाली उद्धारमा विशेष कुटनीतिक पहल गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।

नेपालमा रहेका विदेशीलाई चार्टर गरेर लगिएको दृष्टान्त राख्दै देउवाले आफ्ना नागरिकलाई उद्धार र खानबस्नको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

Published : Wednesday, 2020 April 1, 2:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया