निजी अस्पतालले ज्वरोका बिरामी फिर्ता गरे कारबाही, यी ठाउँमा प्रयोगशाला राखिने

काठमाडौं । ज्वरो आएका बिरामीको उपचार गर्न नमानेको भनेर निजी अस्पतालहरूको आलोचना भइरहेका बेला सरकारले ती अस्पतालहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

निजी अस्पतालहरूले ज्वरो आएका बिरामीलाई कोरोना संक्रमणको आशंकामा उपचार नगरी फर्काइदिने गरेका थिए । अबदेखि ज्वरो आएका बिरामीलाई फिर्ता पठाउन नपाइने सरकारले निर्देशन दिएको छ । बिरामीलाई उपचार नगरी फिर्ता पठाइए कारबाही गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले चेतावनी दिएका छन् ।

‘के सरकारी, के गैरसरकारी, के सामुदायिक सबै अस्पतालले आफ्नो दायित्व बुझ्नुपर्ने हुन्छ’, प्रवक्ता डा.देवकोटाले भनेका छन् । उनले यस्ता अस्पतालविरुद्ध कडा कदम चाल्न नपरोस् भन्दै चेतावनी दिएका हुन् ।

‘संक्रमणकालीन अवस्थामा गरिने नियम हेरेर हामीले काम गरिरहेका छौं, कम्तिमा बिरामी नफर्काइदिनुस्’, उनले भने, ‘मन्त्रालयले तोकेको नियमअनुसार उपचार गर्नुहोस् ।’

सरकारले तोकेका कोरोना विशेष अस्पतालहरू, हब अस्पताल, प्रादेशिक अस्पताल, मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले अनिवार्य रुपमा ज्वरो क्लिनिक र आकस्मिक सेवा दिनुपर्ने डा. देवकोटाले बताए ।

त्यसबाहेक अन्य अस्पतालले पनि आकस्मिक स्वास्थ्य सेवा यथारुपमा सञ्चालन गर्नुपर्ने उनले बताए ।

‘कुनैपनि अस्पतालले आकस्मिक सेवा लिन आएका बिरामीलाई अब फर्काउनुहुने छैन भन्ने विश्वास गरेका छौं’ देवकोटाले भने ।

नेपालमा कोरोना संक्रमण देखिएका बिरामीको अवस्था सामान्य रहेको प्रवक्ता डा.देवकोटाले बताए ।

कोरोना संक्रमित पाँच जनामध्ये एक जनालाई निको भइसकेको छ भने बाँकी चार जनाको उपचार भइरहेको छ ।

दुई जनाको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, एक जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पताल र एक जनाको बागलुङको धौलागिरि अस्पतालमा उपचार भइरहेको छ ।

डा. देवकोटाले सबै संक्रमितको स्वास्थ्यमा जटिलता नआएको बताए ।

स्वास्थ्य मन्त्रालयले धरान, जनकपुरधाम, हेटौँडा र बुटवल, सुर्खेत र धनगढीमा कोरोना भाइरसको नमूना परीक्षण गर्न विशेषज्ञको टिम पठाएको जनाएको छ ।

Published : Sunday, 2020 March 29, 6:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया