मुख्यमन्त्री राई र खतिवडावीच कुराकानी, कोरोनाविरुद्धका सामग्री आइतबार जिल्ला पठाउने

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई कोरोना भाइरसविरुद्धको अभियानमा तिब्रताका साथ लाग्न आग्रह गर्दै औषधि र स्वास्थ्यसम्बन्धी उपकरणहरू सबै जिल्लामा पुर्‍याउन आग्रह गरेका छन् ।

युवा नेता खतिवडाले शनिबार मुख्यमन्त्री राईलाई फोन गरेर प्रदेश १ का सबै जिल्लाहरूमा कोरोनाविरुद्धको उपचारमा चिकित्सकहरूलाई आवश्यक पर्ने सबै सामग्रीहरू उपलब्ध गराउन आग्रह गरेका हुन् ।

जवाफमा मुख्यमन्त्री राईले आइतबार सबै जिल्लामा कोरोना भाइरसको उपचारमा आवश्यक पर्ने सामग्री पठाउने आश्वासन दिएको खतिवडाले जानकारी दिए ।

कांग्रेस नेता खतिवडाले प्रदेश १ का सबै जिल्लाहरूमा कोरोना भाइरसको संक्रमणको नमूना परीक्षणको व्यवस्था गर्न पनि मुख्यमन्त्री राईसँग आग्रह गरेका थिए । खतिवडाले लकडाउनका कारण समस्यामा परेका जनतालाई राहतका कार्यक्रम दिनपनि आग्रह गरेका छन् ।

कांग्रेस नेता खतिवडाले स्थानीय तहले कोरोना भाइरसको संक्रमण रोक्न विषयमा जिम्मेवारी बोध गरेर काम गर्न आग्रह गरेका छन् ।

यसैबीच, नेपाली कांग्रेसका नेता महेन्द्र यादवले पनि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँग सबै जिल्लाहरूमा कोरोना भाइरस रोक्नका लागि उचित व्यवस्था गर्न माग गरेका छन् ।

उता, नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले शुक्रबार उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापन पत्र बुझाएर कोरोना भाइरसको संक्रमणविरुद्ध तिब्र गतिमा काम गर्न तथा चिकित्सकहरू आवश्यक पर्ने बन्दोबस्तीका सामान उपलब्ध गराउन माग गरेका थिए ।

लकडाउनका कारण अति निम्न वर्गलाई दैनिक गुजारा चलाउन समस्या परेको भन्दै कांग्रेसले जनतालाई राहतका कार्यक्रम ल्याउन दवाव दिँदै आएको छ ।

Published : Saturday, 2020 March 28, 8:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया