कोरोनाबारे सरकारी तयारीप्रति कांग्रेसको असन्तष्टि, बुझायो ज्ञापन पत्र

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।

खाँणले शुक्रबार उपप्रधानमन्त्री समेत रहेका नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेललाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।

सरकारलाई बुझाइएको ज्ञापन पत्रमा विश्वमा फैलेको कोरोना महामारी मानव सभ्यताको लागि शताब्दी कै ठूलो चुनौतीको रुपमा आइरहेको जनाइएको छ । यसको नियन्त्रणका लागि सरकार ज्यादै गम्भीर, संवेदनशील, दृढ र गतिशील हुनु जरुरी खाँणले उल्लेख गरेका छन् ।

‘सबै आम नागरिकले कोरोना नियन्त्रणका लागि सजकता र धैर्यता अपनाउनु आवश्यकता छ’, ज्ञापनपत्रमा भनिएको छ, ‘कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा रहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीप्रति राज्य र आम नागरिकको पूर्ण साथ र सहयोग जरुरी छ ।’

‘नेपाल सरकारले यस सन्दर्भमा आवश्यक चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा सामग्रीको व्यवस्था गर्न नसक्नु सरकारको अकर्मण्यता हो । यो ज्यादै जोखिमपूर्ण रहेको छ’, खाँणले भनेका छन् ।

नेपाल सरकारले कोरोना नियन्त्रण सम्बन्धी चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको लागि आवश्यक पि.पि.ई. (पर्सनल प्रोटेक्सन इक्युपमेन्ट) लगायत चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा अन्य सामग्री विदेशबाट अबिलम्ब आयात गर्न अत्यावश्यक छ’, ज्ञापन पत्रमा कांग्रेसले भनेको छ ।

‘कोरोना महामारी फैलन नदिन लकडाउन (राष्ट्रव्यापी बन्द) अत्यावश्यक कार्य हो’, कांग्रेसले भनेको छ, ‘लकडाउनलाई सफल बनाउन सुरक्षा निकाय र प्रशासनलाई सहयोग पुर्‍याउनु सबै नागरिकहरुको दात्यिव हो । साथै सुरक्षा निकायलाई पनि गुणस्तरीय मास्क र सुरक्षा उपकरणको व्यवस्था गर्न नितान्त जरुरी छ ।’

‘यो महामारीलाई नियन्त्रण गर्न केन्द्रीय सरकारले प्रदेश सरकार र स्थानीय निकायहरुलाई समन्वयात्मक रुपमा अझै गतिशिल ढंगले परिचालन गर्न आवश्यक छ’, ज्ञापन पत्रमा भनिएको छ, ‘सातै प्रदेशमा कोरोना परीक्षण प्रयोगशाला यथाशीघ्र सञ्चालन गर्न जरुरी छ । यसका साथै सबै प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थासम्म स्वास्थ्य उपकरण र सामग्रीको तत्काल प्रबन्ध गर्न अत्यावश्यक छ ।’

‘कोरोना नियन्त्रणका लागि सामाजिक र निजी संघ, संस्थाले चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा सामग्रीको व्यवस्थाको लागि गरिरहेको पहललाई सकारात्मक रुपमा लिई सरकारले यसका लागि प्रोत्साहन गर्न र सहयोग पु¥याउन आवश्यक छ’, कांग्रेसले भनेको छ ।

‘लकडाउनका कारणले दैनिक ज्यालादारी गर्दै जीवनयापन गरिरहेका श्रमिक, कृषि मजदुरलाई खाद्यान्नको व्यवस्था गर्न स्थानीय निकाय, व्यवसायीक र सामाजिक संघसंस्था तथा राजनैतिकर्मीहरूले समन्वय गरी गतिशील भूमिका निर्वाह गर्न अत्यावश्यक भइसकेको छ’, कांग्रेसले माग गरेको छ ।

‘छिमेकी मित्रराष्ट्र भारतमा समेत लकडाउन भइरहेको अवस्थामा यात्राको क्रममा भारतमा विचल्ली परेका नेपालीहरूको उद्दार र रक्षाका लागि सरकारी निकाय गम्भीर बन्न जरुरी छ’, कांग्रेसले भनेको छ ।

संसार भरी छरिएर रहेका नेपालीहरुको स्वास्थ्य र सुरक्षाको लागि हाम्रा कुटनीतिक निकायहरुले सक्रियता बढाउनु आवश्यक छ ।

कांग्रेसले महामारीको नियन्त्रण गर्न रातदिन खटी रहेका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरू धन्यवादको पात्र रहेको जनाएको छ । उनीहरूको जीवन रक्षा र स्वास्थ्य सुरक्षालाई सरकारले पहिलो प्राथमिकता दिनुपर्ने कांग्रेसले जनाएको छ ।

यस्तै अहोरात्र खटिरहेका सुरक्षाकर्मी, प्रशासन र स्थानीय जनप्रतिनिधिहरूको मनोबल बढाउन सरकार र जनस्तरबाट साथ दिन कांग्रेसले अपील गरेको छ ।

‘कोरोना नियन्त्रणका लागि नेपाल सरकारले सम्पूर्ण शक्ति केन्द्रीकृत गरेर लगाउन र अन्तर्राष्ट्रिय सहयोग तत्काल जुटाउन अपरिहार्य छ’, ज्ञापन पत्रमा कांग्रेसले भनेको छ, ‘कोरोना महामारी नियन्त्रणका लागि सरकारले नेपाल भरी नै लकडाउन गरिरहेको बेलामा दीर्घ रोगी तथा नियमित रुपमा चिकित्सकको परामर्शमा औषधि सेवन गरिरहेका बिरामीहरू तथा अन्य रोगका विरामीहरुलाई उपाचारको आवश्यक प्रबन्ध गर्न जरुरी छ ।’

‘दैनिक उपभोग्य खाद्य पदार्थ आपूर्तिको व्यवस्था गर्न एवं फोहोर व्यवस्थापन गर्न सम्बन्धित सरकारी निकायले सयममा नै ध्यान पु¥याउनु जरुरी छ’, कांग्रेसले उल्लेख गरेको छ ।
कांग्रेसले नेपाल सरकारले कोरोना भाइरस (कोभिड १९) नियन्त्रण सम्बन्धी कार्य भोली हैन आजै गर्न जरुरी रहेको जनाएको छ । सबै नेपाली जनताले सजकता, धैर्यता र सम्यमता अपनाउन जरुरी रहेको पनि कांग्रेसले जनाएको छ ।

‘विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस नियन्त्रणका लागि नेपाल सरकारलाई हाम्रो पूर्ण साथ एवं सहयोग छ र सरकारले तत्काल उपरोक्त विषयमा गम्भीरतापूर्वक ध्यान दिएर उपयुक्त कदम चाल्नका लागि ध्यानाकर्षण गराउँदछौं’, ज्ञापन पत्रमा भनिएको छ ।

Published : Friday, 2020 March 27, 7:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया