मन्त्रीहरूको जस्तो अवस्था निम्न वर्गको छैन, राहत देउ सरकारः खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कोरोना भाइरसको संक्रमणविरुद्ध सरकारले गरिरहेको कामहरूप्रति असन्तुष्टि जनाएका छन् ।

शुक्रबार ट्वीट गर्दै खतिवडाले सरकारले कोरोना रोकथामका लागि गरेका उपायहरू कछुवाको गतिमा सञ्चालन गरेको भन्दै आक्रोश पोखेका हुन् । उनले यसरी नै काम गर्दै जाने हो भने देशको अवस्था भयावह हुने चेतावनी दिएका छन् ।

कोरोना भाइरसको संक्रमण रोक्ने कार्यमा सिङ्गो देशले सरकारलाई साथ दिएको भन्दै खतिवडाले भने, ‘सरकारले बिहान बेलुका काम गरेर खाने अति निम्न वर्गका जनताका विषयमा सोँच्न सकेको छैन । उनीहरूका विषयमा छिटोभन्दा छिटो ध्यान दिइयोस् ।’

‘हामी सरकारलाई सबै प्रकारको सहयोग गर्न तयार छौं’, खतिवडाले ट्वीटमा भनेका छन्, ‘तर सरकार कछुवाको गतिमा पनि अघि जान सकेन ।’

‘जनता त्रासमा छन्, बिहान कमाएर बेलुकी खाने देशका जनतालाई खै राहतका कार्यक्रम ?’, उनले प्रश्न गर्दै भनेका छन्, ‘मन्त्रीहरूलाई ६ वर्ष पुग्ने समानको जोहो होला ! तर, सबैको त्यो अवस्थामा जीवन छैन है । भोलि ढिला होला आजै गरौं ।’

सरकारले लक डाउन गरेका बेला अति निम्न वर्गाका जनताको लागि राहतका कार्यक्रम ल्याउनुपर्ने माग उठिरहेका बेला कांग्रेसका नेता खतिवडा सरकारलाई तिव्रगतिमा काम गर्न सुझाव दिएका हुन् ।

Published : Friday, 2020 March 27, 3:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया