भोजपुरका मेयरद्वारा मजदुरहरूलाई खाद्य सामाग्री वितरण

भोजपुर । ‘लक डाउन’का कारण समस्यामा परेका मजदुरहरूलाई भोजपुर नगरपालिकाले खाद्य सामाग्री वितरण गरेको छ ।

बिहीकार भोजपुर नगरपालिकाले दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्ने अति विपन्न परिवारलाई खाद्य सामाग्री बितरण गरिएको नेपाली कांग्रेस भोजपुरका जिल्ला सचिव समेत रहेका मेयर कैलाशकुमार आलेले जानकारी दिए ।

सरकारद्वारा आह्वान गरिएको ‘लक डाउन’का कारण ज्याला मजदुरी गरेर खाने अति विपन्नहरूलाई राहत मिलोस् भनेर खाद्य सामाग्री वितरण गरिएको मेयर आलेले बताए । उनले आवश्यक्ताअनुसार ज्याला मजदुरी गरेर गुजारा गर्ने परिवारलाई खाद्यलगायतको सहयोग गरिने बताए ।

मेयर आलेले भोजपुर नगरपालिकाका बासिन्दालाई खाद्य, स्वास्थ्यसहित अत्यावसेक सेवाहरूलाई सहज बनाउने बताए । ‘नगरबासीलाई समस्या नहोस् भनेर हामी सचेत छौँ’, उनले भने, ‘हामीले तयारीहरू पनि गरेका छौँ ।’

मेयर आलेले लक डाउनलाई सहयोग गर्न आग्रह गर्दै समय–समयमा साबुन पानीले हात सफासँग धुन आग्रह गरेका छन् । त्यसका लागि दश सार्वजनिक स्थानहरूमा स्यानिटाइजर, साबुन तथा पानीको व्यवस्था गरिएको मेयर आलेले बताए ।

‘सर्वसाधारणलाई साबुन पानीले हात धुने र जनचेतनाको अभियान पनि चलाएका छौँ’, मेयर आलेले भने, ‘स्वास्थ्य सुरक्षाका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न अपील पनि गरेका छौँ ।’

भोजपुर नगरपालिकाले आफ्ना नगारिकहरूको स्वास्थ्यलाई ध्यानमा राखेर दुई स्थानमा क्वारेन्टाइन स्थापना गरिएको छ । दुई स्थानमा गरी ६० बेडको क्वारेन्टाइन बनाइएको मेयर आलेले बताए ।

यसैबीच, नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले कोरोना संक्रमणबाट जोगिनका लागि साबुन पानीले हात धुन आग्रह गरेका छन् ।

उनले आफ्नो घरगाउँमा आएका नयाँ व्यक्तिलाई निगरानी गरेर सेल्फ क्वारेन्टाइनमा राख्न आग्रह गरेका छन् ।

Published : Thursday, 2020 March 26, 9:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया