कस्तो छ टेकुमा उपचाररत दुई जना संक्रमितको अवस्था ? यसाे भन्छन् चिकित्सक

काठमाडौं, १३ चैत । सरकारले दुई दिनभित्रमा चीनबाट औषधि नेपालमा आइपुग्ने जनाएको छ ।

औषधि नेपाल आएपछि सरकारले विराटनगर, पोखरा र नेपालगञ्जमा गरी तीन ठाउँमा ल्याव स्थापना गर्ने तयारी गरेको टेकु अस्पतालका वरिष्ठ चिकित्सक डा.बासुदेव पाण्डेले जानकारी दिए ।

नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग बिहीबार बिहान कुरा गर्दै डा.पाण्डेले दुबईबाट आएका व्यक्तिमा देखिएका व्यक्तिहरूको रिपोर्ट आज आउने बताए । त्यसपछि सबै विषय थाहा हुने उनले बताए ।

ती युवक दुर्बइबाट राति १० बजेर ९ मिनेटमा एयरपोर्टबाट सिधै होटलमा गएको पाइएको डा.पाण्डेले बताए ।

सम्भावित ठाउँहरूमा ती युवकले गरेका गतिविधिका विषयमा अनुसन्धान भइरहेको डा.पाण्डेले बताए ।

उनले संक्रमणको रिपोर्ट दिन केही ढिलाई भएको स्वीकार गर्दै रिपोर्ट आउने वित्तिकै फेरि चेक गर्नुपर्ने उल्लेख गरे । रिपोर्टका विषयमा विश्व स्वास्थ्य संगठन र सम्बन्धित व्यक्ति आएको ती देशहरूलाई पनि जानकारी दिनुपर्ने भएकाले ढिलाई भएको डा.पाण्डेले बताए ।

जनतालाई प्रस्ट जानकारी दिनका लागि पनि बिरामीको रिपोर्टलाई व्यवस्थित बनाउनुपर्ने उनले बताए ।

डा.पाण्डेले टेकु अस्पतालमा कोरोना भाइरसको संक्रमण भएपछि उपचार गराइरहेका दुबै जनाको स्वास्थ्य अवस्था राम्रो रहेको बताए । उपचाररत युवतीले चिकित्सकहरूलाई ठूलो सहयोग पुर्‍याएको बताए ।

‘उपचाररत युवतीको स्वास्थ्य सुधारमा छ’, डा.पाण्डेले भने, ‘ती युवतीबाट आएको जानकारी अनुसार नै सोही जहाजमा आएका यात्रुहरूलाई खोज्न सजिलो भएको छ ।’

अर्का कोरोना संक्रमित युवाको स्वास्थ्य पनि सुधारउन्मुख रहेको डा.पाण्डेले बताए । ‘युवक दुबईबाट आउनुभएको रहेछ । उहाँलाई यो रोगको सचेतनाका बारेमा धेरै जानकारी रहेनछ’, डा.पाण्डेले भने, ‘दुई दिन अगाडिदेखि ज्वरो आउने र खोकी लाग्ने भएपछि टेकु अस्पतालमा आफै ट्याक्सी चढेर चेकअप गराउनु भएको रहेछ ।’ ती युवकसँग सबै कुरा जानकारी लिएर अन्य सम्भावित व्यक्तिहरूलाई खोजेर परीक्षण गरिने उनले बताए ।

घरमा बस्दा भिडभाड भइरहेको र पार्टी हुने गरेको भन्दै यस्ता गल्ती नगर्न डा.पाण्डेले सबैलाई आग्रह गरेका छन् ।

उपत्यका बाहिर भएका बिरामीको नमूना परीक्षण गर्न काठमाडौंमा ल्याउनुपर्ने भएकाले समस्या भएको भन्दै डा.पाण्डेले अहिले टाढाको स्वाबलाई जहाजबाट र नजिकका जिल्लाको नमूना एम्बुलेन्सबाट ल्याउने गरिएको बताए ।

अहिले किटको भन्दा स्वाबको अभाव भएको उनले बताए । परीक्षण गर्ने व्यवस्था काठमाडौंमा मात्रै भएकाले समस्या भएको डा.पाण्डेले बताए ।

Published : Thursday, 2020 March 26, 8:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया