भरतपुर कोरोना अस्पतालमा निधन भएका युवकबारे प्रवक्ताले जारी गरे तथ्य

भरतपुर । चितवनको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालले ३० वर्षीय युवकको निधन भएको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।

अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारीले विज्ञप्ति जारी गरेर निधन भएका युवकको स्वाबको नमूना संकलन गरेर काठमाडौं पठाइएको बताएका छन् ।

‘चैत ९ गते वीरगञ्ज निवासी ३० वर्षीय सन्तोष यादव पहिलादेखि नै लुपस (एलयुपीयुएस) भन्ने रोगले मिर्गौला समेत कमजोर भएको अवस्थामा ज्वरो र निमोनियाको लक्षण भइ चितवन मेडिकल कलेजबाट रिफर भइ कोभिड १९ को आशंकामा आउनु भएको थियो’, प्रवक्ता डा.अधिकारीले भनेका छन् ।

‘राति १० बजे भर्ना गरिएको उक्त बिरामीको स्वाब नमूना कलेक्सन १० गते नै गरी काठमाडौं पठाइएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘१० गते दिउँसोतिरबाट श्वास प्रश्वासमा केही समस्या बढेपछि सघन उपचार कक्ष आईसियुमा सारिएको थियो’, प्रवक्ता डा.अधिकारीले भनेका छन्, ‘समस्या बढ्दै गई सुधार नहुँदा चैत ११ गते बिहान ९:३० बजे मृत घोषणा गरिएको छ ।’

‘स्वाबको रिपोर्ट आउन बाँकी छ । मृत शरीरलाई सुरक्षित साथ रिपोर्ट नआउन्जेल आईसोलेसनमा राखिएको छ’, विज्ञप्तिमा प्रवक्ता डा.अधिकारीले भनेका छन् ।

Published : Tuesday, 2020 March 24, 1:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया