वडाध्यक्ष पौडेलको स्वास्थ्यलाई लिएर कांग्रेस गम्भीर, माग पूरा गर्न दवाव

काठमाडौं । नेपाली कांग्रेसले चितवनको माडीमा अनसन बसेका वडाध्यक्षको स्वास्थ्यलाई लिएर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आइतबार विज्ञप्ति जारी गरेर माडीमा अनसन बसेका वडाध्यक्ष कृष्णप्रसाद पौडेलको जायज मागलाई सम्बोधन गर्न माग गरेका हुन् ।

चितवन जिल्ला माडी नगरपालिका वडा नं. १ का वडाध्यक्ष एवं नेपाली कांग्रेसका नेता कृष्णप्रसाद पौडेल गत फागुन ७ गतेबाट माडीका जनताको वास्तविक आवाज बोकेर त्यस क्षेत्रको चौतर्फी विकासका साथै माडी नगरवासीका हकहितका लागि ७ बुँदे माग सहित आमरण अनसन बसेका छन् ।

‘राष्ट्र विकासका लागि जनप्रतिनिधि स्वयं नै आमरण अनसन बस्नु पर्ने वाध्यता सृजना हुनु वर्तमान सरकार देश विकास र जनहितकारी कार्यमा असक्षम भएको पुष्टि भएको छ’, खाँणले भनेका छन् ।

‘व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर जनताको पक्ष एवं विकासका लागि बस्नु भएको आमरण अनसन प्रति उच्च सम्मान प्रकट गर्दै नेपाली कांग्रेस संसदीय दल ऐक्यबद्धता जनाउँदछ’, विज्ञप्तिमा भनिएको छ ।

‘आमरण अनसनको चौथौ दिन वितिसक्दा पनि स्थानीय र संघीय सरकारले चासो नदेखाउनु र उदासिन हुनु दुःखद पक्ष हो’, खाँणले भनेका छन्, ‘माडीवासीको तर्फबाट अनसनरत रहुन भएका जनप्रतिनिधि पौडेलको दिनानुदिन स्वास्थ्य स्थिति समेत नाजुक हुँदै गएको छ ।’

‘तसर्थ उहाँले राख्नु भएका जायज मागलाई तत्काल वार्ताद्वारा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरी आमरण अनसनमा बस्नु भएका पौडेलको अनसन अन्त्य गरी उहाँको जीवन रक्षा गर्न स्थानीय र संघीय सरकार एवं सम्बद्ध पक्ष सँग नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ’, प्रमुख सचेतक खाँणले भनेका छन् ।

Published : Sunday, 2020 February 23, 11:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया