कांग्रेसले तराईलाई न्याय गर्‍यो, तराईबाट कांग्रेसलाई अन्याय भयोः खतिवडा

सर्लाही । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले प्रदेश २ मा मधेस केन्द्रित दलहरूले बनाएको प्रदेश सरकारका कारण चरम भ्रष्टाचार बढेको टिप्पणी गरेका छन् ।

सर्लाही जिल्लाको क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसल शनिबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा खतिवडाले प्रदेशमा बनेको मधेस केन्द्रित दलहरूको संयुक्त सरकारले जनतको काम गर्नेभन्दा पनि भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाए । प्रदेश २ का मन्त्रीहरूले मेयर छोरालाई बजेट दिएर भैँसी वितरणका नाममा ठूलो सरकारी रकम कुम्ल्याएको खतिवडाले आरोप लगाए ।

‘प्रदेश २ मा मधेस केन्द्रित दलहरूले सरकार बनाएका छन् । उनीहरूले जनताको काम गर्नेभन्दा पनि भ्रष्टाचार गरेर कसरी कमाइ गर्न सकिन्छ भनेर लागेका छन्’, उनले भने, ‘सात वटा प्रदेशमध्ये प्रदेश २ मा सबैभन्दा धेरै भ्रष्टाचार भएको छ । तथ्याङ्कहरूले देखाएको छ ।’ मधेस केन्द्रित दलका नेता र मन्त्रीहरू जनतालाई लुटेर मौकाको फाइदा उठाउन सक्रिय भएको खतिवडाले बताए ।

नेपाली कांग्रेसले सधै तराई मधेसलाई न्याय गरेको बताउँदै युवा नेता खतिवडाले भने, ‘तराईको लागि महेन्द्रनारायण निधिले ठूलो योगदान गर्नुभएको छ । उहाँ नभएको भए मधेसी जनतालाई न्याय गर्ने कोही हुने थिएनन् ।’

‘कांग्रेसले तराई मधेसलाई सधैँ न्याय गरेपनि तराई मधेसले बेलाबेला कांग्रेसलाई अन्याय गर्ने गरेको छ’, खतिवडाले भने, ‘कांग्रेसले नै तराई मधेसको व्यक्ति डा.रामवरण यादबलाई पहिलो राष्ट्रपति बनायो’, उनले भने, ‘तराईले कृष्णप्रसाद भट्टराईलाई पर्साबाट जिताएर ०५६ सालमा प्रधानमन्त्री बनायो ।’

खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारकै प्रवक्ता एवम् मन्त्री गोकुल बास्कोटा ७० करोड काण्डका कारण बाहिरिनु परेको उदाहरण दिँदै खतिवडाले भने, ‘यो सरकारले कसरी भ्रष्टाचार र अनियमिततालाई संरक्षण गरेको रहेछ भन्ने पुष्टि भएको छ ।’

कम्युनिस्ट सरकारका आधा दर्जन मन्त्रीहरू अनियमितता र युवती काण्डका कारण मन्त्री पद गुमाएको बताएका खतिवडाले ओली सरकारले देशमा शान्ति सुरक्षा, विकास र जनताको आकंक्षा पूरा गर्न नसकेको बताए ।

नेपाली कांग्रेसका युवा नेता खतिवडाले ओली सरकारले माधवकुमार नेपाल र विष्णु पौडेललाई बालुवाटार जग्गा काण्डमा डामेको साँढेलाई जस्तै बनाएको बताए । उनले भने, ‘यतीलाई सरकारी सम्पत्ति दिने कार्यदेखि ठूलाठूला भ्रष्टलाई संरक्षण दिएको छ ।’

Published : Saturday, 2020 February 22, 10:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया