घोराही २ का नेकपाका वडाध्यक्षलाई आयो ‘समृद्धि’, तीन वर्षमा करोडौँको सम्पत्ति

घोराही । तत्कालीन नेकपा (एमाले)बाट घोराही उपमहानगरपालिका वडा नम्बर २ मा वडाध्यक्षमा निर्वाचित केशव आचार्यले अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको छ ।

घोराही उपमहानगरपालिकाका मेयर समेत रहेका नरुलाल चौधरीको वडाका वडाध्यक्ष आचार्यले तीन वर्षभित्र करोडौँको सम्पत्ति आर्जन गरेको भन्दै चर्चा हुन थालेको छ ।

उनी हाल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आबद्ध छन् ।

वडाध्यक्ष हुनुभन्दा अगाडि आचार्यको मोतीपुरमा सामान्य घर थियो । वडाध्यक्षमा निर्वाचित भएपछि आचार्यले घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा चार तलाको आलिसान भवन बनाएका छन् ।

स्रोतका वडाध्यक्ष आचार्यले ३ वर्षभित्र ५ करोडभन्दा बढी रकम बराबरको सम्पत्ति आर्जन गरेको आरोप छ । उनले यो सम्पत्ति भ्रष्टाचार गरेर आर्जन गरेको चर्चा छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा खडा भएको वडाध्यक्ष आचार्यको ४ तलाको आलीशान महलको स्रोतको खोजविन हुन थालेको छ ।
मेयर चौधरीकै वडा भएका कारण आचार्यको वडामा अलिक धेरै बजेट आउने गरेको छ ।

पछिल्लो समय यो वडामा सिंचाइका लागि ड्याम लगायतको नाममा करोडौंको काम भएको छ । त्यो काममा अनियमितता भएको आरोप स्थानीयको छ ।

त्यति मात्रै कहाँ होर ? वडाध्यक्ष आचार्यले २ वटा एक्जाभेटर समेत खरिद गरेका छन् । आफ्ना एक्जाभेटरहरूलाई वडाभित्र काममा लगाउने गरेका छन् ।
घोराही बजारमा ३–४ वटा करोडौं मूल्य पर्ने घडेरी खरिद गरेको आरोप वडाध्यक्ष आचार्यलाई लागेको छ ।

उनको घोराही उपमहानगरपालिका वडा नम्बर १ बुका, काडाखुटीमा ६० लाख मूल्य बराबरको जग्गा पनि छ ।

वडाध्यक्ष आचार्यले महँगो मूल्य पर्ने ड्युक मोटरसाइकल पनि खरिद गरेका छन् । उनले करीव ६० तोलाका सुनका गरगहना पनि खरिद गरेको स्थानीयको आरोप छ ।

वडाभित्र हुने विकास कार्यक्रमहरू सेटिङमा आफू निकटकालाई दिने र त्यसबापत कमिशन लिने गरेको आरोप आचार्यलाई लागेको छ ।

वडाध्यक्ष आचार्यको अनियमितता र भ्रष्टाचारविरुद्ध स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिने तयारी गरेका छन् । कम्युनिस्टको नामबाट वडाध्यक्षमा विजयी भएका आचार्य रातारात करोडपति बनेपछि वडा नम्बर २का मतदाताहरू चकित परेका छन् ।

कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले भनेको समृद्धि घोराही उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष आचार्यलाई आएको भनेर चर्चा हुन थालेको छ ।

आरोपहरूका बारेमा के भन्छन् वडाध्यक्ष केशव आचार्य ?

मलाई लगाइएका आरोपहरू झुठ्ठा र गलत छन् । वडाध्यक्ष भएका कारण भ्रष्टाचार गरेर घर बनाएको होइन । मेरो बुबा भारतीय आर्मीको पेन्सनवाला हुनुन्छ । भाई विदेशमा बस्छ । घर बनाउने नसक्ने भन्ने होइन । घर बनाएको छु । मेरो एक्जाभेटर छैन । वडाको विकास निर्माणका कामहरू मैले कसैलाई पनि सेटिङ गरेर दिएको छैन । राम्रो काम गरेपछि मलाई आरोप लगाएर बद्नाम गर्न खोजिएको छ । राजनीतिक षड्यन्त्र भएको छ ।

Published : Sunday, 2020 February 16, 8:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया