भक्तपुर तरुणद्वारा मसाल जुलुस प्रदर्शन, कम्युनिस्टहरूलाई तनाब (भिडियो)

काठमाडौं । कम्युनिस्ट सरकारको मतियार बनेपछि नेपाल तरुण दल भक्तपुरले बिहीबार भक्तपुर जिल्लामा मसाल जुलुस प्रदर्शन गरेको छ ।

नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाको नेतृत्वमा बिहीबार भक्तपुरमा मसाल जुलुस प्रदर्शन गरिएको तरुण दलका सदस्य राजु पुरीले जानकारी दिए ।

सयौँको संख्यामा रहेका तरुणहरूले मध्यपुर पुरानो थिमीबाट मध्यपुर शंखधर चोक चाइना रोडसम्म मसाल जुलुस गरेर कोण सभा गरिएको थियो । मसाल जुलुसमा कम्युनिस्ट सरकार र अख्तियारविरुद्ध तरुणहरूले नारावाजी गरेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्युनिस्ट सरकारको निर्देशनमा राजनीतिक पूर्वाग्रही निर्णय गरेर नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई मुद्धा लगाएर नेकपाका नेताहरूलाई उन्मुक्ति दिएको भन्दै तरुण दल भक्तपुरले मसाल जुलुस प्रदर्शन गरेको हो ।

तरुण दल भक्तपुरका अध्यक्ष थापाले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपाका महासचिव विष्णु पौडेल र उनका छोरा नवीन पौडेल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई तथा तत्कालीन मुख्य सचिव लीलामणि पौडेललाई कारबाहीको माग गरे ।

‘बालुवाटारको जग्गा प्रकरणका मुख्य दोषीहरूलाई लाल झण्डा ओढाएर नेकपाको सरकारको निर्देशनमा अख्तियारले राजनीति पूर्वाग्रही भए केही कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई मुद्धा चलाएको छ’, उनले भने, ‘कसैलाई उन्मुक्ति दिने कसैलाई मुद्धा चलाउने अख्तियारको भेदभावकारी निर्णय खारेज गर्नुपर्छ । दोषी सबैलाई कारबाही हुनुपर्छ ।’

तरुण दल भक्तपुरका अध्यक्ष थापाले नेकपाका दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिजाप्रसाद कोइरालाको चरित्र हत्या हुने गरेर दिएको अभिव्यक्तिको पनि विरोध गरे ।

‘गिरिजाप्रसाद कोइरालाका कारण जंगलबाट शहरमा आएर सत्तामा हालिमुहाली गरिरहेका प्रचण्डले कुन उदेश्यले जथाभावी बोल्दै छन्’, उनले भने, ‘प्रचण्ड र माओवादीले आफ्नो हैसियत भुल्नु हुँदैन ।’

नेपाल तरुण दल भक्तपुरले आयोजना गरेको मसाल जुलुसमा तरुणहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

Published : Thursday, 2020 February 13, 8:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया