गिरिजाप्रसादलाई दाग लगाएपछि कांग्रेसले प्रचण्डलाई सचेत गरायो

काठमाडौं । नेपाली कांग्रेसले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले दिएको विवादास्पद अभिव्यक्तिप्रति आफ्नो गम्भीर ढंगले ध्यानआकर्षित भएको जनाएको छ ।

‘माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपूर्ण अवतरण गराउन निर्णायक पहल गर्नुहुने शान्तिका नायक स्व.गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भूमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक त छ नै आपत्तिजनक समेत छ’, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

‘फौजी आक्रमण अलि बढाइदिनुपर्‍यो र सदरमुकाम हान्नुपर्‍यो भनेर गिरिजाप्रसाद कोइरालाले दाहाललाई यदि साञ्चै भन्नुभएको हुँदो हो त त्यो संवादको कुरा कोइराला जीवित छँदैनै दाहालले पक्कै सार्वजनिक गर्नुहुन्थ्यो’, शर्माले भनेका छन्, ‘उहाँको निधन भएको यतिका वर्षपछि ऐतिहासिक तथ्यलाई तोडमरोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैह्र जिम्मेवार अभिव्यक्ति आउनु दुःखद् छ ।’

‘ऐतिहासिक तथ्य यो हो कि माओवादीको हिंसात्मक आक्रमणबाट मुलुकलाई मुक्त गर्न गिरिजाप्रसाद कोइरालाले सहमति, सहकार्य र एकताको राजनीति अघि सार्नु भएको थियो’, नेपाली कांग्रेसका प्रवक्ता शर्माले भनेका छन्, ‘हिंसाको राजनीतिलाई सुरक्षित अवतरण गराउन सफल ढंगले संयोजन र नेतृत्व गर्नुभएको नेताले नै हिंसात्मक आक्रमणका लागि प्रेरित गर्नुभयो भन्नु आफैमा विरोधाभासपूर्ण छ ।’

‘जिम्मेवार ढंगले कार्य गर्न कोइरालाले कुनै बेला दाहाललाई दिनुभएको सुझाव सार्वजनिक रुपले स्मरण गराउँदै जिम्मेवार अभिव्यक्तिका लागि पनि सजग गराउँदछु’, शर्माले भनेका छन् ।

नेकपाका दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कथित जनयुद्ध दिवसका अवसरमा पूर्वएमालेको पार्टी मुख्यालय धुम्बाराहीमा बिहीबार बिहान आयोजित कार्यक्रममा नेपाली कांग्रेस र तत्कालीन सभापति एवम् प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको चरित्रमा दाग लाग्ने गरेर अभिव्यक्ति दिएका थिए ।

दाहालले गिरिजाप्रसाद कोइरालाले सुरक्षा निकायमाथि आ’क्रमण गरिदिनुपर्‍यो भनेर भनेको भन्दै मनगढान्ते कुरा गरेपछि नेपाली कांग्रेस रिसाएको हो ।

Published : Thursday, 2020 February 13, 7:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया