चीन खुसी हुँदा बालुवाटारमा सन्नाटा

काठमाडौं । हत्या आरोपमा मुद्दा खेपिरहेका नेकपाका सांसद अग्नि सापकोटाले सभामुखमा कब्जा जमाएपछि बालुवाटारभित्र सन्नाटा छाएको छ । चीन निकट मानिने सापकोटालाई सभामुख बनाउन ठूलो दवाव थियो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सभामुख पद छाड्न चीनबाट समेत दवाव परेको स्रोतको भनाइ छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सभामुख पद छाड्न केही हदसम्म पनि तयार भएका थिए ।

खुमलटारमा दुई महिना अगाडि बसेको बैठकमा प्रचण्डले पार्टी एकीकरण भइसकेकाले सभामुख जो बनेपनि हुने भन्दै पूर्वमाओवादी नेताहरूलाई चुपचाप बस्न निर्देशन दिएका थिए । प्रचण्डको यो भनाइ पूर्वमाओवादी नेताहरूले बालुवाटारस्थित चाइनिज एम्बेसीमा पुर्‍याएका थिए । त्यसपछि चिनियाँ निकटका नेता तथा नेपालका लागि चीनको राजदूत होउ यान्छीले समेत राजनीतिक भेटवार्तालाई तीब्र बनाइन् ।

स्रोतका अनुसार राजदूत होउ यान्छीले प्रचण्डलाई चितवनमा पुगेर दवाव दिएकी थिइन् । प्रचण्डकी छोरी रेणु दाहाललाई भरतपुरमा भेटेर सापकोटालाई सभामुख बनाउन दवाव दिएको समेमत बाहिर आएको थियो । छोरीमार्फत प्रचण्डलाई चिनियाँ राजदूत होउ यान्छीले सभामुख पद नछाड्न दवाव दिएको उच्च स्रोतले जनाएको छ । त्यसवापत राजदूत होउ यान्छीले भरतपुर महानगरपालिकालाई ठूलो सहयोग गर्ने बाचा दिएको स्रोत बताउँछ ।

त्यसपछि चिनियाँ राजदूत होउ यान्छी सिधै बुटवल पुगिन् । बुटवलमा उनले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई भेट गरिन् । पोखरेलमार्फत उनले ओलीलाई कन्भिन्स गर्न लगाइन् । चिनियाँ राजदूत होउ यान्छीको दबाबपछि मुख्यमन्त्री पोखरेल पनि काठमाडौं आएर प्रधानमन्त्री ओलीसँग भेट गरेर सभामुखमा धेरै अडान नलिन आग्रह गरेका थिए । ओलीले पोखरेलको आग्रहलाई मानेकी मानेनन् स्रोतले केही नभने पनि चिनियाँहरूको प्रयास सफल भएको छ । प्रदेश ५ का मुख्यमन्त्री पोखरेल चीन निकट मानिन्छन् ।

चीनले यसअघि कृष्णबहादुर महरामार्फत संसदबाट आफू अनुकूलका कानून बनाउन सफल भएको थियो । अमेरिकन सहयोग एमसीसीलाई पनि केही समय रोक्न चीन सफल भएको थियो । एमसीसी सहयोगसम्बन्धी कार्यक्रम संसदमा अड्किएर बसेको छ । संसद सचिवालयकी महिला कर्मचारीलाई जबरजस्ती करणी गरेको अभियोगमा थुनामा पुगेपछि महराले राजीनामा दिएका थिए । त्यसपछि चीनलाई छटपट्टी भएको थियो । आखिर चीनले आफू निकटका सापकोटालाई सभामुख बनाउन सफल भएको छ ।

ओलीलाई दवाव सिर्जना गराउन वामदेव गौतमको भैंसेपाटीमा नेकपाका नेताहरूको बैठक बसाल्न चिनियाँ राजदूत होउ यान्छीले वातावरण बनाइदिएको चर्चा पनि हुन थालेको छ । चीनले सिधै नेपालको राजनीतिमा हस्तक्षेप गर्दैन । तर, आफ्नो स्वार्थ पूरा गर्नका लागि आफ्ना एजेन्टहरूलाई माईक्रो रुपमा परिचालन गर्नेगर्छ । चीनका प्रतिनिधिहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री डा.शशांक कोइरालालाई गोप्य रुपमा भेटेका थिए । त्यसबेला नेपाली कांग्रेसलाई आक्रामक रुपमा अगाडि नबढाउन दवाव दिएको कांग्रेसका नेताहरूले नै भन्ने गरेका छन् ।

ओली यस पटक नरम भएका छन् । ओलीलाई प्रचण्डले गलाएका छन् । सापकोटामार्फत चीनको शानदार विजय यात्रा शुरु भएको छ । अब नेपालमा भारत, चीन र अमेरिकाको स्वार्थ जोडिएका धेरै कुरा देखिने गरेर बाहिर आउनेछन् । प्रचण्डसँग एक कदम पछाडि जानुपरेको भन्दै बालुवाटार रिसाएको छ । बालुवाटारले अहिले आफ्नो कुनै प्रतिक्रिया बाहिर ल्याएको छैन । ओली राजनीतिक खेलाडी हुन् ।

उनले प्रचण्डको यो दबाबलाई सजिलै भुल्ने छैनन् । सापकोटाको सभामुखको यात्र जोखिममा नै छ । किनभने काभ्रेका अर्जुनबहादुर लामालाई अपहरपछि हत्या गरेको मुद्दाले सापकोटालाई पिछा छाड्ने संकेत देखिदैन । सोही मुद्दाका कारण सापकोटा नेपालभन्दा बाहिरका देश जान पाएका छैनन् । सभामुख भए पनि सापकोटालाई विदेश भ्रमणमा जान खतरा छ । (यूनाइटेड पाेस्ट साप्ताहिकबाट साभार)

Published : Thursday, 2020 January 23, 9:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया