कांग्रेसका शीर्ष नेताहरूको बुढानिलकण्ठ ‘कुराकानी’ सकारात्मक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विवाद समाधानका लागि असन्तुष्ट नेताहरूको नेतृत्व गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलालगायतका नेताहरूसँग छलफल गरेका छन् ।

देउवाले बुधबार आफ्नै निवास बुढानिलकण्ठमा पौडेल र सिटौलासहित वार्ता टोलीका नेताहरूसँग कुराकानी गरेका हुन् ।

नेताहरूसँग देउवाले १४औं महाधिवेशनको कार्यतालिकासहितका पौडेल समूहका मागका विषयमा छलफल गरेका हुन् ।

दुई पक्षबीचको विवाद समाधानका लागि आन्तरिक गृहकार्यको जिम्मेवारी पाएका उपसभापति विमलेन्द्र निधि, नेताद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाबीच सोमबार भएको छलफलका आधारमा सभापति देउवाले नेता पौडेलसहित कार्यदलका तीन सदस्य तथा महामन्त्री पूर्णबहादुर खड्कालाई आफ्नै निवासमा बोलाएका थिए ।

छलफलमा मंसिर २६ गतेको केन्द्रीय कार्यसमितिमा प्रस्तुत एजेण्डा र पुस ११ गतेको बैठकले गरेका निर्णयमाथि छलफल भएको नेताहरूले बताएका छन् ।

सभापति देउवा र असन्तुष्ट नेताहरूवीच भएको कुराकानी सकारात्मक रहेको जनाइएको छ । कुराकानी सकारात्मक भएपनि ठोस निष्कर्ष निस्किएको छैन ।

शुक्रबार पुनः कुराकानी गर्ने गरी बुधबारको सम्वाद टुंगिएको छ ।

सभापति देउवा र पौडेलसहित कार्यदलका सदस्यहरूबीच शुक्रबार बिहान ९ बजे वार्तामा बस्ने सहमति भएको छ ।

वार्तामा विवादको केन्द्रमा रहेको महाधिवेशन कार्यतालिका, नेविसंघको नयाँ कार्यसमिति गठन, नेपाल तरुण दलको विवाद, पार्टीका विभागको संख्या र गठन लगायतका विषयमा सम्भव भएपसम्म शुक्रबार नै सहमति कायम गरी अघि बढ्न नेताहरू तयार रहेका छन् ।

६०–४० सहितको भागबण्डा खोजेर पौडेल समूहले केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेपछि विवादले उत्कर्ष लिएको थियो ।

पार्टीभित्र विवाद हुँदाहुँदै पौडेल नयाँदिल्ली पुगेर भारतीय नेताहरूसँग भेट गरेर काठमाडौं फर्किएका थिए ।

Published : Wednesday, 2020 January 22, 7:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया