देउवा कमजोर हुँदा कांग्रेस बलियो हुँदैनः सभापति श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले सभापति शेरबहादुर देउवालाई कमजोर बनाएर कांग्रेस पार्टी बलियो नहुने बताएका छन् ।

काठमाडौंबाट प्रसारित हुने एउटा टेलिभिजनसँगको अन्तर्वार्तामा सभापति श्रेष्ठले पार्टीलाई बलियो र एकतावद्ध बनाउन दवाव दिने उदेशयले आफूहरू काठमाडौंमा आएको बताए ।

‘सभापति शेरबहादुर देउवालाई कमजोर बनाएर कांग्रेस पार्टी बलियो हुँदैन । हामी पनि कुनै जिल्लाको सभापति हो’, उनले भने, ‘विधि र पद्धतिमा रहेर सभापति शेरबहादुर देउवाले पार्टी चलाउनुपर्छ । सबैलाई सहमतिमा ल्याउनुपर्छ ।’

वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइरालाले आफूहरूलाई परामर्श बैठकमा बोलाएको बताएका चितवन कांग्रेसका सभापति श्रेष्ठले भने, ‘हाम्रो अधिकार कटौती हुँदा तपाईहरू(पौडेल समूह) बोल्नु भएन । अहिले तपाईहरूलाई समस्या पर्दा हामीलाई बोलाउनुभयो भनेर मिल्नका लागि दवाव दिएका छौँ ।’

जिल्ला सभापतिहरूको परामर्श बैठकपछि सभापति शेरबहादुर देउवालाई भेटेर पार्टीलाई विधि र पद्धतिबाट चलाउन आग्रह गर्ने उनले बताएका छन् ।

‘पार्टीको विधानअनुसार चलनुपर्छ । हामी जिल्ला सभापतिहरू पनि विधानअनुसार चल्नुपर्छ’, उनले भने, ‘आज शेरबहादुर देउवा कांग्रेस पार्टीको सभापति हुनुहुन्छ । त्यो ठाउँमा भोलि अर्को सभापति हुनु सक्छ ।’

सभापति श्रेष्ठले नेतृत्व विधानअनुसार चलने भने काम गर्न असजिलो हुने बताए ।

‘सभापति देउवा र वरिष्ठ नेता पौडेलवीच कुरा गर्न पनि वार्ता टोली बनाउने कुरा राम्रो होइन । वीचमा कोही खेल्नु हुँदैन । उहाँहरूको कुरा गर्न कोही पनि चाहिँदैन’, श्रेष्ठले भने, ‘कसैलाई अपमान र मानमर्दन गरेर कोही पनि बलियो हुँदैन ।’

‘देउवा र पौडेल जिम्मेवार बनेर काम गर्नुपर्छ । हामी रहरले होइन । कांग्रेस बलियो होस् भनेर काठमाडौं आएको हो’, उनले भने, ‘हामी बलियो र मजबुद हुनुपर्ने बेला कांग्रेस देशभरि विवादको चर्चामा पुगेको छ ।’

चितवन कांग्रेसका सभापति श्रेष्ठले क्रियाशील सदस्यता सम्बन्ध निर्णय फिर्ता हुनै पर्ने बताए । ‘अन्यथा पार्टी पैसा हुनेहरूको कब्जामा जान्छ । हामी कांग्रेसमा नलागेपनि हुन्छ’, उनले भनेका छन् ।

Published : Tuesday, 2020 January 7, 11:19 am

फेसबुकबाट तपाईको प्रतिक्रिया