मिलेर पार्टी चलाउन जिल्ला सभापतिहरूको दवाव, सभापतिको आलोचना (नामसहित)

काठमाडौं । नेपाली कांग्रेसका असन्तुष्ट समूहको नेतृत्व गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका जिल्ला सभापति र केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा पार्टी चाउन खोजेको भन्दै सच्चिएर एकतावद्ध भइ अगाडि बढ्नुपर्ने बताएका छन् ।

ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको पार्टी मुख्यालयमा सोमबार बसेको पौडेल समूहका जिल्ला सभापतिहरूको परामर्श बैठकमा धारणा राख्ने जिल्ला सभापतिहरूले पार्टीका शीर्ष नेतृत्व मिल्नुपर्ने धारणा राखेको नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए ।

‘पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा निर्णय गरेर विधान विपरितका कार्य गरेको भनेर जिल्ला सभापतिहरूको धारणा आएको छ’, उनले बैठकका विषयमा जानकारी दिँदै भने, ‘विधानअनुसार नै पार्टी चलाउनुपर्छ, सबै नेताहरू एकजुट भएर सहमति र सहकार्यका साथ अगाडि बढ्नुपर्ने सुझाव आएको छ ।’

सभापति श्रेष्ठका अनुसार बैठकमा ४८ जिल्ला सभापतिहरूको उपस्थिति रहेको छ । रामेछाप, पश्चिम नवलपरासी र भोजपुरका सभापति आउने क्रममा बाटोमा रहेको तथा मंगलबारको भेलामा सहभागी हुने उनले बताए । भेलामा १४ जना जिल्ला सभापतिहरूले धारणा राखेका छन् । भेला मंगलबार बिहान साढे ११ बजे पुनः पार्टी मुख्यालय सानेपामा बस्नेछ ।

मंगलबारको बैठकमा जिल्ला सभापतिहरू र केन्द्रीय नेताहरूको अलग–अलग समूह बनाएर छलफल हुनेछ । बैठकमा सभापति देउवा निकटका जिल्ला सभापतिहरूको अनुपस्थिति रहेको थियो ।

भेलामा नेता कृष्णप्रसाद सिटौला निकटका जिल्ला सभापतिहरूको पनि सहभागिता रहेको छ । ७७ जिल्लामा पौडेल–सिटौला निकटका आधाभन्दा धेरै जिल्ला सभापतिहरू रहेका छन् ।

बैठकको शुरुमा सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवा एकपक्षीय रुपमा निर्णय गरेर बहुमतको आधारमा पेलेको धारणा राखेका थिए । उनले आफूहरू मिलेर जाने पक्षमा रहेपनि सभापतिबाट धोका भएको बताए । पार्टीको विधानहरू निलम्बन गर्ने गरेर सभापति देउवाले निर्णय गरेको भन्दै पौडेलले विभागहरू थप गर्ने लगायतका निर्णयहरू खारेजीको माग गरे ।

महामन्त्री डा.शशांक कोइरालाले सल्लाह नै नगरी एकलौटी रुपमा १४औँ महाधिवेशनको मिति तोकेको बताए । उनले विगतका सभापतिहरूले सबैसँग सल्लाह गरेर मिति घोषणा गर्ने गरेको परम्परालाई सभापति शेरबहादुर देउवाले उल्ट्याएको बताए ।

केन्द्रीय सदस्य प्रकाशमान सिंहले वार्ताका क्रममा भएका विषयमा जानकारी गराएका थिए ।

बैठकमा लीलादेवी बोखिम– ताप्लेजुङ्ग, नरेन्द्रकुमार केरुङ्ग–पाँचथर, हिमालय कर्माचार्य– इलाम, उद्धव थापा– झापा, दीपनकुमार श्रेष्ठ– संखुवासभा, गोविन्द ढुङ्गाना– तेह्रथुम, नन्दमणि राई– भोजपुर (आउन बाँकी), अग्निप्रसाद पौडेल– धनकुटा, राजीव कोइराला– सुनसरी र बालकृष्ण घिमिरे– पूर्वी नवलपरासीले सहभागिता जनाएको पौडेल समूहको दाबी छ ।

विनोदकुमार बस्नेत– सोलुखुम्बु, नरेशकुमार श्रेष्ठ– खोटाङ्ग, उज्जलप्रसाद बराल– सिन्धुली, विकास लामा– सिन्धुपाल्चोक, मधु आचार्य– काभ्रेपलान्चोक, कृष्णसबुज बानियाँ– काठमाडौं, जगदीश्वर नरसिंह केसी– नुवाकोट, रमेश धमला– धदिङ्ग, जितनारायण श्रेष्ठ– चितवन र भेषबहादुर पौडेल लम्जुङ्गको पनि सहभागिता रहेको छ ।

याङ्गजिङ्ग विष्ट– मुस्ताङ्ग, खम्बहादुर गर्बुजा (खम्बिर) – म्याग्दी, भुवनप्रसाद श्रेष्ठ– गुल्मी, वीरबहादुर राण– पाल्पा, विष्णुप्रसाद खनाल ‘मुस्कान’– अर्घाखाँची, सुरेन्द्रराज आचार्य– कपिलवस्तु, अमरसिंह पुन– रोल्पा, अमरप्रसाद भण्डारी– प्यूठान, गणेश चन्द– सल्यान र किरण कोइराला– बाँकेको पनि बैठकमा सहभागिता रहेको दाबी गरिएको छ ।

सञ्जय गौतम– बर्दिया, केशरमान रोका– रुकुम पूर्व, दीपकबहादुर शाही– जुम्ला, हर्षबहादुर बम– कालिकोट, दीपकजंग शाह– जाजरकोट, प्रेमप्रकाश वली– रुकुम पश्चिम, कृष्णकुमार विसी– दैलेख, कमलराज रेग्मी–सुर्खेत, ललितसिंह बोहोरा– दार्चुला, कर्णबहादुर मल्ल – डडेल्धुरा (मल्लले भेलालाई वीचैमा छाडेर हिँडेको), नरेन्द्र थापा– बैतडी र खड्गबहादुर शाही– मुगुको बैठकमा उपस्थिति रहेको दाबी गरिएको छ ।

Published : Monday, 2020 January 6, 5:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया