देउवाका कारण पार्टी समाप्त हुन लाग्योः सुजाता कोइराला

बुटवल । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाले पार्टी समाप्त पार्न लागेको आरोप लगाएकी छिन् ।

नेपाल प्रेस युनियन रुपन्देही शाखाले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आन्तरिक विवाद नमिले आउने चुनावमा कांग्रेस जिरो हुने चेतावनी दिइन् । उनले सभापति देउवालाई सच्चिन सुझाव दिएकी छिन् ।

नेतृ कोइरालाले फेरि पार्टी सभापति बन्ने लोभमा देउवाले पार्टी समाप्त बनाएको आरोप लगाइन् ।

‘पार्टी सबैभन्दा ठूलो कुरा हो, व्यक्ति होइन’, उनले भनिन्, ‘आन्तरिक विवाद नमिले आउने चुनावमा कांग्रेस जिरो बन्छ ।’

‘यदि पार्टीभित्र गुट र यस्तै किचलो भैरहे म गिरिजाप्रसाद कोइरालाकी छोरीको हात पनि यो पार्टीमा भोट हाल्न काँप्छ’, उनले भनेकी छिन् ।

नेपाली कांग्रेसलाई भोट हाल्दा अन्य कार्यकर्ताको पनि हात काँप्ने स्थिति नआओस् भन्नेतर्फ ध्यान दिनुपर्ने उनले बताइन् ।

पार्टीको विवाद तत्काल अन्त्य गर्नुपर्ने र कांग्रेस बलियो बनाउनुपर्ने नेतृ कोइरालाले बताएकी छिन् ।

नेपाली कांग्रेस महाधिवेशनमा सबैको साझा उम्मेदवार बन्नुपर्ने र पार्टीलाई बलियो बनाउनेलाई जिताउनुपर्ने उनको भनाइ छ ।

नेतृ कोइरालाले कांग्रेस बलियो भएमात्रै लोकतन्त्र बलियो हुने बताइन् ।

डा.शशांक कोइराला, डा.शेखर कोइराला र आफूबीच कुनै विवाद नभएको उनले बताएकी छिन् । ‘कोइराला परिवार भनेर मात्रै होइन’, उनले भनेकी छिन्, ‘कांग्रेसमा योगदान गरेको इतिहास पनि छ । जो भए पनि मिलेरै अगाडि बढ्नुपर्छ ।’

Published : Friday, 2020 January 3, 11:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया