‘प्रचण्ड’का पूर्वअंगरक्षक एसपी मल्लले डीआईजीलाई टेरेनन्, हेडक्वाटरमा खैलाबैला

भरतपुर । चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले प्रदेश ३ प्रहरी कार्यालयको निर्देशन अवज्ञा गरेका छन् ।

बुधबार बिहान तालुकदार निकाय प्रदेश ३ प्रहरीले जिल्ला प्रहरी कार्यालय, चितवनलाई पत्र लेख्दै १२ घण्टाभित्र रमाना हुन निर्देशन दिएको थियो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पूर्वअंगरक्षक समेत रहेका एसपी मल्ले डीआईजीको निर्देशनलाई लत्याउँदै बिहीबार दिनभरि जिल्लामै बसेका छन् ।

एसपी मल्लको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएको छ । सरुवा हुँदा पनि मल्ल १३ दिनसम्म चितवन जिल्ला छाड्न मानेका छैनन् ।

एसपी मल्लले जिल्ला नछाडेपछि प्रदेश प्रहरीले १२ घण्टे पत्र काटेको थियो । पत्र काटेको दिन बिहीबार एसपी सधैँझैँ नियमित काममा व्यस्त रहेका थिए ।

पूर्वी रत्ननगर नगरपालिका–५, टरौलीमा कृषि तालिम तथा अनुसन्धान केन्द्रको उद्घाटन गर्न पुगेका प्रचण्डको सुरक्षार्थ एसपी मल्ल कार्यक्रमस्थल पुगेका थिए ।

प्रचण्डसँगकै सम्बन्धका कारण मल्लले डीएसपी हुँदा आकर्षक मानिने काठमाडौंको दरबारमार्ग प्रहरी वृत्तको नेतृत्व गर्ने अवसर पाएका थिए ।

एसपी मल्लले चितवनका केही पत्रकारहरूलाई तत्काल आफूले जिल्ला नछाड्ने बताएका छन् । सरुवामा कसैले खेल्न खोजेको एसपी मल्लले आरोप लगाएका छन् ।

समय नपुग्दै सरुवा गर्न खोजिएको भन्दै मल्लले चितवनमा बस्ने वातावरण बनाइदिन प्रचण्ड र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसँग लबिङ गरिरहेका छन् ।

एसपी मल्लले जिल्ला छाड्न नमान्दा चितवनमा सरुवा भरिएकी एसपी गंगा पन्त काठमाडौंमा बसेकी छिन् ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्री सरुवाको पूर्वसूचिमा कुनै परिवर्तन नभएको बताएका छन् ।

एसपी मल्ले डीआईजीकाे निर्देशनलाई अटेर गरेपछि प्रहरी हेडक्वाटरसम्म कुरा पुगेकाे छ ।

Published : Thursday, 2020 January 2, 9:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया