मेलमिलाप दिवसकै दिन पौडेल–सिटौला समूहले देखायो कम्युनिस्ट खुसी हुने औकात

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय मेलमिलाप दिवसका दिन बोलाएको पदाधिकारीहरूको बैठक असन्तुष्ट समूहको नेतृत्व गरेका नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले बहिस्कार गरेका छन् ।

नेपाली कांग्रेसका शीर्ष नेतामा देखिएको बिबाद चर्कदै जाँदा एकले अर्कोलाई बोलाएको बैठकमा समेत उपस्थित नहुने स्थिति आएको छ ।

रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, महामन्त्री डा. शशांक कोइराला लगायतका असन्तुष्ट नेताहरूले देउवाले बोलाएको बैठक बहिस्कार गर्दै आएका छन् ।

बुधबार सभापति देउवाले आफ्नै निवास बुढानिलकण्ठमा बोलाएको पदाधिकारीहरूको बैठक पनि पौडेल–सिटौला समूहले बहिस्कार गरिदिएको छ । पाैडेल र सिटाैला समूहकाे हर्कतबाट सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खुसी भएकाे चर्चा हुन थालेकाे छ ।

पुस ११ गतेको केन्द्रीय कार्यसमिति बैठकबाट पार्टीको विधान समेत शंसोधन र १४औँ महाधिवेशनको मिति तोकिएपछि पौडेल र सिटौला समूह असन्तुष्ट बनेको छ ।

पार्टी संस्थापन पक्षले आफूहरूलाई वाहिर राखेरै विधान संशोधनसहित १४औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको भन्दै असन्तुष्ट बनेका नेताहरूले ११ पुसको निर्णय नसच्चिएसम्म बैठकमा अनुपस्थित हुने बताएका छन् ।

पार्टी सभापति देउवाले बुधबार साँझ पाँच बजे निजी निवास बुढानिलकण्ठमा बोलाएको पदाधिकारी बैठक समेत असन्तुष्ट नेताहरूले बहिस्कार गरेका छन् ।

पौडेलसँगै बुढानिलकण्ठ बोलाइएका महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्य प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले बैठक बहिस्कार गरेको नेताहरूले बताएका छन् ।

बहुमतको आधारमा पार्टी माहाधिवेशनको मिति तोक्ने निर्णयप्रति असहमति जनाउँदै ४ बुँदे सुझाव दिन सभापति देउवालाई भेट्न मंगलबार बुढानिलकण्ठ गएका थिए ।

नेपाली कांग्रेसले बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइरहँदा सभापति देउवाले बोलाएको पदाधिकारी बैठकमा बरिष्ठ नेता र केही पदाधिकारी नै अनुपस्थित हुने घटनाले सकारात्मक सन्देश नजाने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले टिप्पणी गरेका छन् ।

Published : Wednesday, 2020 January 1, 10:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया