कांग्रेसले शुरु गरेको काम योगेशले पूरा गर्दै, विमानस्थलका लागि एक भए कांग्रेस–कम्युनिस्ट

खिजीदेम्बा । नेपाली कांग्रेसको तर्फबाट तत्कालीन समयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका बलबहादुर केसीद्वारा सुरुवात गरिएको ओखलढुंगा जिल्लाको दोस्रो विमानस्थल खिजीदेम्बा चण्डेश्वरी विमानस्थलको परीक्षण उडान भएको छ ।

यती समूह अन्तर्गतको तारा एयरको ट्वीनेटर विमानले सोमबार नयाँ विमानस्थलमा परीक्षण उडान भरेको हो । परीक्षण उडानका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडा, प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवार, विमानस्थल निर्माण उपभोक्ता समितिकी अध्यक्ष गोमा केसी, नेपाली कांग्रेस ओखलढुंगाका जिल्ला सभापति प्रदीप सुनुवारसहितका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

उल्लेख्य संख्यामा तारा एयरको परीक्षण उडान हेर्न आएका सर्वसाधारणहरूको पनि उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेस ओखलढुंगाकी नेतृ गोमा केसीको अध्यक्षतामा यो नयाँ विमानस्थलको निर्माण अन्तिम चरणमा पुगेको छ । धावनमार्ग र अन्य भौतिक संरचनाहरू निर्माण हुन बाँकी छ ।

नेपाली कांग्रेसका तत्कालीन पर्यटनमन्त्री बलबहादुर केसीले ०६३ सालमा पहिलो पटक बजेट छुट्याएर ओखलढुंगाको खिजीदेम्बे चण्डेश्वरी हवाई मैदान बनाउन सुरुवात भएको थियो ।

नेपाली कांग्रेस ओखलढुंगाकी नेतृ गोमा केसीको अध्यक्षतामा विमानस्थल निर्माण उपभोक्ता समिति गठन गरेर ०७६ साल पुस ७ गते विशेष कार्यक्रम गरी तारा एयरको ट्वीनेटर विमानमार्फत परीक्षण उडान गरिएको नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले जानकारी दिए ।

कांग्रेसका युवा नेता खतिवडाले विमानस्थल निमार्णमा सहयोग गर्ने अध्यक्ष केसीसहित सबैलाई धन्यावाद दिएका छन् । ‘यो विमानस्थल निर्माणका लागि सुरुवात पहल गर्ने बलबहादुर केसीज्यूलाई विशेष धन्यावाद, पर्यटनमन्त्री योगेश भट्टराईजूले अहिले आएर परीक्षण उडान गरिदिएर ओखलढुंगालाई अर्को गुन लगाउनुभएको छ’, खतिवडाले भने, ‘विकासको कार्यक्रममा तेरो र मेरो भन्ने परम्परा अन्य गरी हाम्रो भन्ने संस्कार भित्र्याउनुपर्छ ।’

नेपाली कांग्रेसकी नेतृ एवम् विमानस्थल निर्माण उपभोक्ता समितिकी अध्यक्ष गोमा केसीले विमानस्थल बनाउन जग्गा उपलब्ध गराएर सहयोग गर्ने दाताहरूलाई विशेष धन्यावाद दिएकी छिन् । स्थानीयले विमानस्थल निर्माणका लागि ३ सय ६५ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

‘निर्माणाधीन विमानस्थललाई ३ सय ६५ रोपनी जग्गा उपलब्ध गराउने सम्पूर्ण जग्गादाताहरूप्रति आभारी छु’, केसीले भनेकी छिन्, ‘यस उपभोक्ता समितिको कार्यकाल सम्पन्न गर्नका लागि बिशेष सहयोग गर्नुहुने अग्रज व्यक्तित्वहरूलाई धन्यावाद दिन चाहन्छु ।’

विमानस्थल बनाउनका लागि पूर्व पर्यटनमन्त्रीहरू बलबहादुर केसी, लोकेन्द्र बिष्ट, विजयकुमार गच्छदार, शरदसिंह भण्डारी, ओखलढुंगा जिल्लाका पूर्व जिल्ला विकास समितिका सभापति एवम् नेपाली कांग्रेसका पूर्व सभापति महेशकुमार कोर्मचालाई विशेष धन्यावाद दिइएको छ । अध्यक्ष केसीले विमानस्थल निर्माणका लागि सहयोग गर्ने नेपाल उड्डयन प्राधिकरणका कर्मचारीहरूलाई पनि विशेष धन्यावाद दिएकी छिन् ।

‘पयर्टनमन्त्री योगेश भट्टराईलाई पनि विशेष धन्यावाद दिन चाहन्छु’, नेपाली कांग्रेसकी नेतृ एवम् विमानस्थल निर्माण उपभोक्ता समितिकी अध्यक्ष केसीले भनेकी छिन्, ‘परीक्षण उडान गरेर बाँकी रहेका कामलाई समयमा सम्पन्न सहयोग होस् भन्ने अपेक्षा लिएका छौँ । पर्यटनमन्त्री योगेश भट्टराईले अबका दिनमा सहयोग गर्नुहुनेछ ।’

Published : Tuesday, 2019 December 24, 9:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया