कांग्रेसभित्रको विवाद मिल्ने भयो, चाक्सीबारीको वार्ता सकारात्मक

काठमाडौं । नेपाली कांग्रेसमा देखिएको विवाद समाधानको प्रयास स्वरुप उपसभापति विमलेन्द्र निधि र नेता प्रकाशमान सिंहबीच सकारात्मक कुराकानी भएको छ ।

काठमाडौंको ठमेलस्थित चाक्सीबारीमा शनिबार निधि र सिंहबीच भएको वार्तामा कांग्रेसभित्रको विवाद मिलाउने विषयमा सकारात्मक कुराकानी भएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

पार्टीभित्र देखिएको विवाद समाधान गर्न सभापति शेरबहादुर देउवाले उपसभापति निधिलाई खटाएका थिए । वरिष्ठ नेता पौडेलले नेता सिंहलाई खटाएका थिए ।

तीन घण्टासम्म चलेको बैठक सकारात्मक रुपले अघि बढेको प्रवक्ता शर्माले जानकारी दिएका छन् ।

सहमति बिना विभागको संख्या थप्न प्रस्ताव ल्याएको, भातृ संस्थाको अधिवेशन ६ महिनामा सुनिश्चित गर्न नसकेको, पार्टीको १४ औं महाधिवेशनको कार्ययोजना नल्याएको भन्दै पौडेल पक्षले बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेको थियो ।

त्यही विवाद समाधानका लागि शनिबार बिहान सभापति शेरबहादुर देउवाले नेता पौडेललाई उनकै निवास बोहोराटारमा पुगेर भेटेका थिए ।

भेटमा पौडेलले महाधिवेशनको कार्यतालिका नल्याउँदासम्म बैठकमा उपस्थित नहुने प्रष्टयाएका थिए ।

पौडेलले समूहका मागबारे छलफल गर्न वार्ता समिति बनाएको र त्यही समितिसँग छलफल गर्न भनेका थिए ।

पौडेलले सस्थापनसँग छलफलका लागि नेता प्रकाशमान सिंहको संयोजकत्वमा केन्द्रीय सदस्यहरू दिलेन्द्रप्रसाद बडू र हृदयराम थानी सदस्य रहेको समिति बनाएका छन् ।

सभापति देउवाले पौडेल पक्षलाई मनाउने जिम्मेवारी उपसभापति विमलेन्द्र निधिलाई दिएका छन् ।

पौडेल पक्षको बहिस्कारबीच देउवाले बिहीबारको बैठकमा मौजुदा रहेका २८ विभागलाई बढाएर ४१ र्पुयाउने प्रस्तावसहित छलफलका लागि ९ वडा एजेण्डा प्रस्तुत गरेका थिए ।

ती एजेण्डामाथि छलफल गर्न आइतबार केन्द्रीय समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको प्रवक्ता शर्माले बताएका छन् ।

Published : Saturday, 2019 December 14, 11:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया